तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्नीहरू र उपपत्नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्जित तुल्याउनुभयो।
हजूरलाई घृणा गर्नेहरूलाई हजूर प्रेम गर्नुहुन्छ, अनि हजूरलाई प्रेम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। हजूरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजूरको दृष्टिमा केही होइनौं भनी देखाउनुभयो। यो स्पष्ट देखियो कि आज अब्शालोम बाँचेर हामी सबै मरेका भए हजूर खुशी हुनुहुनेथियो।
अब झट्टै गएर आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। यदि हजूरले इन्कार गर्नुभयो भने, परमप्रभुको शपथ खाएर म भन्दछु, कि आज राति एउटै मानिस पनि हजूरसँग हुनेछैन। हजूरले आफ्नो जवान अवस्थादेखि भोग्नुभएका सबै सङ्कष्टभन्दा पनि यो सङ्कष्टचाहिँ सबैभन्दा खराब हुनेछ।”
तब राजा उठे र मूल ढोकामा बसे। अनि जब राजा मूल ढोकामा बसिरहनुभएको छ भनी मानिसहरूलाई सुनाइयो तब तिनीहरू सबै राजाको सामुन्ने देखा परे। त्यस बेलासम्ममा इस्राएलीहरूचाहिँ आ-आफ्नो घरमा भागिसकेका थिए।
इस्राएलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्दैथिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो, र पलिश्तीहरूको शक्तिबाट छुटाउनुभयो, अनि अब अब्शालोमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ।
तब दाऊद राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भनिपठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध: ‘राजालाई तिनका महलमा ल्याउनलाई किन तिमीहरू सबैभन्दा पछि हुने, किनभने जुन कुरा सारा इस्राएलमा गरिँदैछ त्यो कुरा राजाको घरमा पुगिसकेको छ।
अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्’।”
दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्छेको मनजस्तै गरी जित्यो। अनि तिनीहरूले राजालाई आफ्ना सबै मानिसहरूका साथ फर्कनुहोस् भनी आग्रह गरी पठाए।
उनीसँग शाऊलको घरानाका भण्डारे सीबा पनि, आफ्ना पन्ध्र भाइ छोरा र बीस जना चाकरसमेत, र एक हजार बेन्यामीनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए, जहाँ राजा थिए।
जँघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे, र तिनको हुकुमअनुसार गर्ने उत्साह देखाए। गेराका छोरा शिमी यर्दन पार गरेपछि राजाको सामुन्ने घोप्टो परे,
र राजालाई भने, “हजूरले मलाई दोषी ठहराउनुभयो होला। हजूरले यरूशलेम छोड्नुहुँदा हजूरको दासले कस्तो निर्लज्ज व्यवहार गरेको थियो, ती सबै हजूरले नसम्झनुहोला भन्ने मेरो बिन्ती छ। त्यो कुरा राजाले मनमै नराख्नुहोला।
दाऊदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? तिमीहरू आज मेरा विरोधीहरू बनेका छौ। आजको दिन इस्राएलमा किन कुनै मानिस मारिने? आज म इस्राएलका राजा भएँ भन्ने कुरा मलाई थाहा छैन र?”
शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्म उनले न त आफ्ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्ना लुगाहरू धोएका थिए।
मेरा बाजेका सबै घराना, सबका सब, हजूरको हातबाट मारिने योग्यका थिए, तर हजूरको दास, मलाई हजूरले हजूरसँगै खान दिनुभयो। यसभन्दा बढ़ी निगाह मैले अरू के आशा गर्नु र?”
म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्वाद हुँदैन। पुरुष र स्त्रीले गाएको सोर म सुन्न सक्दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने?
मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्छ, त्यसको निम्ति गर्नुहोस्।”
राजाले जवाफ दिए, “त्यसो भए, किमहाम मसँग पारि जाओस्, र तिमीलाई जे असल लाग्छ सो त्यसको निम्ति म गरिदिनेछु। अनि तिमी जे माग्छौ सो म तिम्रो निम्ति गर्नेछु।”
तब सबै मानिसहरू यर्दन पारि तरे, र त्यसपछि राजा तरे। तब राजाले बर्जिल्लैलाई चुम्बन गरे, र तिनलाई आफ्नो आशीर्वाद दिए, अनि बर्जिल्लै आफ्नो घरमा फर्किगए।
त्यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्याए?”
यहूदाका मानिसहरूले जवाफ दिए, “किनभने महाराजा त हाम्रा नजिकका नातादार हुनुहुन्छ। यसमा तपाईं किन रिसाउनुहुन्छ? के हामीले राजाको धन खाएका छौं? के हामीले केही उपहार आफ्नै लागि लिएका छौं?”
इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्, अनि त्यसबाहेक दाऊदमाथि तपाईंहरूको भन्दा हाम्रो बढ़ी हक छ। तपाईंहरू हामीलाई किन तुच्छ सम्झनुहुन्छ? राजालाई फर्काइल्याउने कुरा के हामीले पहिले निकालेका थिएनौं र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् कड़ा कुरा गरे।