तिनले यहूदाका राजा यहोशापातलाई पनि यो समाचार पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन्। मोआबको विरुद्धमा लड़ाइँ गर्न के तपाईं मसित जानुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसँग जानेछु। म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै र मेरा घोड़ाहरू तपाईंका घोड़ाहरूजस्तै हुन्।”
यसैले इस्राएलका राजा यहूदाका राजासँग र एदोमका राजासँग गए। तिनीहरू सात दिनसम्म घुम्दै हिँड़ेपछि, सेनाको आफ्नै लागि र भारी बोक्ने पशुहरूका निम्ति पानी खतम भयो।
तर यहोशापातले सोधे, “के यहाँ परमप्रभुका कुनै एक जना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपूछ गर्न सक्छौं?” इस्राएलका राजाका अधिकृतहरूमध्येका एक जनाले भने, “शाफातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हातमा पानी हालिदिन्थे।”
एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्यालै पनि गर्नेथिइनँ।
किनकि परमप्रभुले यसो भन्नुहुन्छ: तिमीहरूले न बतास न त पानीको झरी देख्नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्।
तपाईंहरूले किल्ला भएको हरेक सहर र हरेक ठूलो नगरलाई परास्त गर्नुहुनेछ। तपाईंहरूले हरेक असल रूखलाई काटेर ढाल्नुहुनेछ, र सबै पानीका मूलहरू बन्द गरिदिनुहुनेछ, र हरेक असल खेतलाई ढुङ्गाहरूले नष्ट पारिदिनुहुनेछ।”
यसै बीचमा राजाहरू उनीहरूका विरुद्धमा लड़ाइँ गर्न आएका छन् भनी सबै मोआबीहरूले सुने। यसैले हतियार चलाउन सक्ने हरेक जवान र वृद्ध मानिसलाई आह्वान भयो, र तिनीहरू युद्धको निम्ति सिमानामा तैनाथ गरिए।
तर जब मोआबीहरू इस्राएलीहरूको छाउनीमा आए, तब इस्राएलीहरू उठेर मोआबीहरू नभागुञ्जेल उनीहरूसित लड़ाइँ गरे। अनि इस्राएलीहरूले उनीहरूको देशलाई आक्रमण गरेर परास्त गरे।
तिनीहरूले सहरहरूलाई सर्वनाश गरे, र सबै मानिसले हरेक असल खेतमा एउटा-एउटा ढुङ्गा फ्याँकेर जमिन जताततै ढुङ्गैढुङ्गाले भरिदिए। तिनीहरूले पानीका सबै मूललाई थुनिदिए, र हरेक असल रूख काटेर ढालिदिए। तिनीहरूले कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसमेत त्यसकै ठाउँमा छोड़िदिए, तर घुयेँत्राले सुसज्जित भएका मानिसहरूले त्यसलाई पनि घेरा हालेर आक्रमण गरे।
तब उनले आफ्नो जेठो छोरो, उनीपछि राजा हुनेलाई सहरको पर्खालमा लगेर बलिदान स्वरूप चढ़ाए। इस्राएलमाथि साह्रै क्रोध पर्यो, र तिनीहरू फर्केर आफ्नै देशमा गए।