सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| तिनीहरूले करारको सन्दुक दाऊदले तयार पारेको पालमा लगे र त्यसभित्र राखे। त्यसपछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि चढाए। |
| 2 |
| बलिहरू चढाइसकेपछि दाऊदले परमप्रभुको नाममा मानिसहरूलाई आशिष् दिए |
| 3 |
| र सबैलाई भोजन गराए। हरेक पुरुष र स्त्रीलाई एउटा रोटी, एक टुक्रा पोलेको मासु र केही किसमिस दिइयो। |
| 4 |
| परमप्रभु इस्राएलका परमेश्वरलाई करारको सन्दुकको अघि गीत गाउँदै र प्रशंसा गर्दै आराधना गर्न दाऊदले केही लेवीहरूलाई खटाए। |
| 5 |
| आसापलाई तिनीहरूका मुखिया र जकरियालाई तिनका सहायक खटाए। यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल वीणा बजाउनलाई खटिए। आसाप झ्याम्टा बजाउने भए |
| 6 |
| अनि दुई जना पूजाहारी बनायाह र यहासेलले वाचाको सन्दुकअघि नियमितरूपले तुरही फुक्नुपर्नेभयो। |
| 7 |
| त्यस दिन पहिलो चोटि दाऊदले आसाप र तिनका लेवी बन्धुहरूलाई परमप्रभुको प्रशंसामा गीत गाउने भार दिए। |
| 8 |
| परमप्रभुलाई धन्यवाद देओ, उहाँको महान्ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर। |
| 9 |
| परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन। |
| 10 |
| हामी उहाँकै हौं र आनन्दित होऔं; उहाँलाई पुज्नेहरू सबै रमाऊन्! |
| 11 |
| सहायताको निम्ति परमप्रभुकहाँ जाओ, उहाँको निरन्तर आराधना गर। |
| 12 |
| [12-13] तिनीहरू, जो परमेश्वरका सेवक याकूब अथवा उहाँले छान्नुभएको इस्राएलका सन्तान हौ, परमेश्वरले गर्नुभएको आश्चर्यकाम र उहाँले दिनुभएको न्यायको फैसला याद गर। |
| 13 |
| 14 |
| परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हुन्। |
| 15 |
| परमेश्वरको करार कहिल्यै नभुल— उहाँले आफ्नो करार सदाकालको निम्ति ठहर्याउनुभयो। |
| 16 |
| उहाँले अब्राहामसित करार बाँध्नुभयो, त्यो करार इसहाकलाई दिनुभयो। |
| 17 |
| परमप्रभुले याकूबसित अनन्तकालको निम्ति त्यो करार बाँध्नुभयो। |
| 18 |
| “म तँलाई कनान देश दिनेछु,” उहाँले भन्नुभयो, “त्यो तेरो आफ्नो सम्पत्ति हुनेछ।” |
| 19 |
| परमेश्वरका सन्तान सङ्ख्यामा थोरै र कनान देशमा परदेशी थिए। |
| 20 |
| तिनीहरू एक देशदेखि अर्को देश, एक राज्यबाट अर्को राज्य हुँदै घुमिहिँडे। |
| 21 |
| तर कसैलाई, परमेश्वरले तिनीहरू कसैलाई सताउन दिनुभएन, तिनीहरूको रक्षा गर्न उहाँले राजाहरूलाई चेतावनी दिनुभयो। |
| 22 |
| “मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।” |
| 23 |
| हे संसारका सारा मानिस हो, परमप्रभुको स्तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर। |
| 24 |
| उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर! |
| 25 |
| परमप्रभु महान् हुनुहुन्छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्च हुनुपर्छ। |
| 26 |
| अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्वर्ग सृष्टि गर्नुभयो। |
| 27 |
| महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्दले उहाँको मन्दिर भरिएको छ। |
| 28 |
| हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर। |
| 29 |
| परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। उहाँले आफ्ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्टो परेर दण्डवत् गर। |
| 30 |
| हे पृथ्वीका सारा मानिस हो, उहाँको अघि थरथर काँप! पृथ्वी आफ्नो ठाउँमा दरिलो प्रकारले बसालिएको छ, र त्यो कसैले हल्लाउन सक्दैन। |
| 31 |
| पृथ्वी र आकाशले आनन्द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्छ भनी जाति-जातिलाई भन। |
| 32 |
| सागर र त्यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्यहाँ भएका हरेक कुराले आनन्द मनाऊन्! |
| 33 |
| जङ्गलका रूखहरूले आनन्दले सोर मच्चाउनेछन्, जब परमप्रभु पृथ्वीमा राज्य गर्न आउनुहुनेछ। |
| 34 |
| परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम अनन्त छ। |
| 35 |
| उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्यवादी बन्न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।” |
| 36 |
| परमप्रभु, इस्राएलका परमेश्वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे। |
| 37 |
| दाऊद राजाले आसाप र उनका लेवी बन्धुहरूलाई करारको सन्दुक राखेको ठाउँमा गरिने जिम्मा सधैँको लागि दिए। दिन-दिनै तिनीहरूले त्यहाँ आफ्ना सेवा गर्थे। |
| 38 |
| यदूतूनको छोरो ओबेद-एदोम र उनका गोत्रका अठसट्ठी जना मानिसहरूले तिनीहरूलाई सघाउँथे। ढोकाहरूमा पहरा दिने काम ओबेद-एदोमको जिम्मामा थियो। |
| 39 |
| सादोक पूजाहारी र उनका अरू पूजाहारी बन्धुहरूचाहिँ गिबोन सहरका आराधना-स्थलमा भएका पवित्र पालमा परमप्रभुको आराधना गर्न जिम्मेवार थिए। |
| 40 |
| हरेक बिहान र साँझ परमप्रभुले इस्राएललाई दिनुभएको नियमअनुसार वेदीमा तिनीहरूले पूर्ण होमबलि चढाउँथे। |
| 41 |
| तिनीहरूसित हेमान, यदूतून र अरू मानिसहरू थिए, जसलाई परमप्रभुको अनन्त प्रेमको लागि उहाँका प्रशंसाको गीत गाउन विशेष रूपले चुन्नुभएको थियो। |
| 42 |
| प्रशंसाको गीत गाउँदा बजाइने तुरही, झ्याम्टा र अरू बाजाहरूको जिम्मा पनि हेमान र यदूतूनलाई नै दिइएको थियो। यदूतूनका गोत्रका मानिसहरू ढोकाहरूमा पहरा दिने कामका लागि जिम्मेवार थिए। |
| 43 |
| त्यसपछि सबै जना घर फर्के र दाऊदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन आफ्नो घर गए। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/1chronicles/016.mp3
29
16