दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै छ। परमप्रभुको निम्ति निर्माण गरिने भवन अत्यन्तै शोभायमान र सबै देशमा प्रसिद्ध र नाउँ चलेको हुनुपर्छ। यसकारण त्यो निर्माण गर्नलाई मैले नै सबै तयारी गर्नेछु।” यसैले आफ्नो मृत्युअघि नै दाऊदले प्रचुर सामान तयार गर्न लागे।
तर परमप्रभुले मलाई मनाही गरेर भन्नुभयो, ‘तैंले धेरै रक्तपात र ठूला-ठूला युद्ध गरेको छस्। मेरो नाउँको निम्ति तैंले यो भवन निर्माण गर्नेछैनस्, किनभने मेरो दृष्टिमा तैंले पृथ्वीमा धेरै रक्तपात गरेको छस्।
तर तेरो एउटा छोरो हुनेछ, जो शान्तिको मानिस हुनेछ। म चारैतिर त्यसका सबै शत्रुहरूबाट त्यसलाई शान्ति दिनेछु। त्यसको नाउँ सोलोमन हुनेछ। त्यसको राजकालमा म इस्राएललाई शान्ति र चैन दिनेछु।
त्यसैले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसका पिता हुनेछु। अनि म इस्राएलमा सदासर्वदाको लागि त्यसको राज्यको सिंहासन स्थिर गर्नेछु’।
“अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्नुभएअनुसार तेरो उन्नति होस्, र तैंले परमप्रभु तेरा परमेश्वरको घर बना।
इस्राएलको निम्ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्साहित नहो।
“ज्यादै दु:ख उठाएर मैले परमप्रभुका मन्दिरको निम्ति एक लाख तोड़ा सुन, दश लाख तोड़ा चाँदी, जोख्नै नसकिने काँसा र फलाम जोहो गरिराखेको छु। काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु। तैंले त्यसमा अरू थप्न सक्छस्।
“के परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्न? के उहाँले तिमीहरूलाई चारैतिर शान्ति दिनुभएको छैन? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मेरो अधीनमा राख्नुभएको छ। उनीहरू परमप्रभु र उहाँका प्रजाको अधीनमा छन्।
अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाइ खोज्न आफ्नो तनमन लगाओ। उहाँको पवित्रस्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र भाँड़ाकुँड़ाहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ।”