मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्य लिबियाली, सुक्किया र कूशीहरू पछि लागेका थिए।
तब रहबामलाई र शीशकको आक्रमणदेखि बाँच्नलाई यरूशलेममा भेला भएका यहूदाका कुलनायकहरूलाई शमायाह अगमवक्ताले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तिमीहरूले मलाई त्यागेका छौ, यसैकारण अब म तिमीहरूलाई शीशकको हातमा सुम्पिदिनेछु।”
परमप्रभुले तिनीहरूलाई विनम्र भएका देखेर उहाँबाट शमायाहकहाँ यो वचन आयो: “तिनीहरूले आफैलाई विनम्र तुल्याएका हुनाले म तिनीहरूलाई विनाश गर्नेछैनँ, तर म तिनीहरूलाई उम्कन दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममा म खन्याउनेछैनँ।
मिश्रदेशका राजा शीशकले यरूशलेममाथि चढ़ाइ गरेपछि तिनले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सबै थोकहरू लुटे, अनि सोलोमनले बनाएका सुनका सबै ढालहरू पनि तिनले जफत गरे।
यरूशलेममा राजा रहबामको शक्ति बढ्दैगयो। तिनी सिंहासन आरोहण गर्दा एकचालीस वर्षका थिए, अनि परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्नो नाउँ राख्नका निम्ति चुन्नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अम्मोनी नामा थियो।