देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्ला भएका सहरहरू पनि सुरक्षित पारे। त्यस समय तिनलाई कुनै युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो।
तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरूलाई निर्माण गरौं। तिनका चारैतिर पर्खाल लाएर धरहरा, ढोका र आग्लाहरू बनाएर तिनलाई सुरक्षित पारौं। देश अझ हाम्रो छ, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अगुवाइ खोजेका छौं। हामीले उहाँलाई खोज्यौं, र उहाँले हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्नुभएको छ।” यसैले तिनीहरूले ती सहरहरू निर्माण गरे, र तिनीहरूको उन्नति भयो।
यहूदाबाट ढाल र भालाहरूले सुसज्जित भएका तीन लाख मानिसहरू र बेन्यामीनबाट दुई लाख असी हजार ढाल बोक्ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए।
तब आसाले परमप्रभु आफ्ना परमेश्वरको पुकारा गरेर भने, “हे परमप्रभु, बलियाको सामना गर्न कमजोर जस्तोसुकै मानिसहरूलाई सहायता दिने त तपाईंजस्तै अरू कोही छैन। हे परमप्रभु हाम्रा परमेश्वर, हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, यसर्थ कोही मानिस तपाईंको विरुद्धमा खड़ा नहोस्।”
आसा र तिनका मानिसहरूले उनीहरूलाई गरारसम्म खेदे। कूशीहरू परमप्रभु र उहाँका सेनाको सामुन्ने परास्त भए, र उनीहरूका धेरै मानिसहरू मरे। अनि यहूदाले धेरै लूटका मालहरू लगे।
तिनीहरूले गरारका चारैतिरका सबै सहरहरू नाश गरे, किनभने परमप्रभुले त्यहाँका मानिसहरूलाई त्रासमा पारिदिनुभएको थियो। तिनीहरूले ती सहरहरू लुटे, र ती सबैबाट दामी-दामी लूटका माल फेला पारे।