सोलोमन राजाले प्रार्थना गरिसक्दा स्वर्गबाट आगो आएर वेदीमा चढाइएका बलिहरू भस्म पार्यो अनि परमेश्वरको उपस्थितिको कारण आँखा तिरमिराउने ज्योतिले मन्दिर भरियो।
स्वर्गबाट आगो झरेको र ज्योतिले मन्दिर भरिएको देखेर इस्राएलका मानिसहरू भूइँमा घोप्टो परेर प्रणाम गरे अनि परमेश्वरका भलाइ र अनन्त प्रेमको लागि उहाँको प्रशंसा गर्दै आराधना गरे।
पूजाहारीहरू आफ्ना निम्ति खटाइएका ठाउँमा खडा भए। तिनीहरूकै सामुन्नेमा लेवीहरू उभिएका थिए। दाऊद राजाले प्रबन्ध गरिदिएका बाजाहरूका साथ र तिनैले खटाएअनुसार “उहाँको प्रेम अनन्त छ!” भन्ने भजन गाउँदै तिनीहरू खडा थिए। पूजाहारीहरूले तुरही बजाउँदै थिए अनि सबै जन-समुदाय खडा थियो।
सोलोमनले मन्दिरको सामुन्नेमा चोकको बीच भागलाई अर्पण गरे र त्यहाँ होमबलि, अन्नबलि र मेलबलिका बोसोबलि चढाए। तिनले बनाएका काँसाको वेदी सबै बलि चढाउन सानो हुनाले तिनले त्यसो गरे।
सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्ता टाढा-टाढाबाट आएका थिए।
अनि भोलिपल्ट सातौँ महिनाको तेईसौँ दिन सोलोमनले मानिसहरूलाई घर फर्काए। परमप्रभुले आफ्ना प्रजा इस्राएल, दाऊद र सोलोमन राजालाई दिनुभएको आशीर्वादको निम्ति तिनीहरू प्रसन्न थिए।
त्यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्चात्ताप गरेर आफूले गरेका दुष्कर्महरू त्यागे भने म स्वर्गमा तिनीहरूको बिन्ती सुन्नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु।
मैले तिमीहरूलाई दिएको देशबाट हटाउनेछु र मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्दिरलाई त्याग्नेछु। सबै देशका मानिसहरूले यसको हाँसो उडाउनेछन् र यसलाई घृणा गर्नेछन्।
“अहिले मन्दिरको ठूलो गौरव छ; तर त्यस बेला यसका छेउबाट जाने हरेकले आश्चर्य मान्नेछ र यसरी सोध्नेछ, ‘परमप्रभुले यो देश र यो मन्दिरसित किन यस्तो गर्नुभयो?’