त्यही दिन अहासूरस राजाले यहूदीहरूको शत्रु हामानका सारा धन-सम्पत्ति एस्तर रानीलाई दिए। मोर्दकै मेरा नातेदार हुन् भनी एस्तरले राजालाई भनिन् र त्यस दिनदेखि राजाको अघि हाजिर हुने अनुमति मोर्दकैले पाए।
“राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्छ र यो कुरा हजुरलाई उचित लाग्छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्तान हम्मदाताको छोरोले राज्यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्।
तर राजाको नाममा राजाकै छाप मोहोर लगाएर निकालिएको उर्दी रद्द गर्न सकिँदैन। तरै पनि तिमीहरू यहूदीहरूलाई जे चाहन्छौ, सो लेख्न सक्छौ। त्यो तिमीहरू मेरो नाममा लेख र त्यसमा मेरो राज-मोहोर लगाऊ।”
सीवान भनिने तेस्रो महिनाको तेईसौं दिनमा यो कुरा भएको हो। मोर्दकैले राजाका सचिवहरूलाई बोलाए र चिठीहरू लेख्न लाए। भारतवर्षदेखि इथियोपिया देशसम्मका १२७ वटा प्रान्तका बडा-हाकिम, शासक र भारदारहरू र यहूदीहरूलाई ती चिठी पठाउने आदेश दिए। प्रान्त-प्रान्तमा चिठीहरू पठाइए। प्रान्त-प्रान्तकै लेख्ने तरिकाअनुसार त्यसकै भाषामा र यहूदीहरूलाई तिनीहरूका लेख्ने तरिकाअनुसार तिनीहरूकै भाषामा ती चिठी लेखिएका थिए।
हरेक सहरमा आफ्नो बचाउको निम्ति यहूदीहरू सङ्गठित हुन सक्छन् र त्यसो गर्न राजाको अनुमति छ भनी ती चिठीमा लेखिएका थिए। कुनै प्रान्तमा कुनै जातिका मानिसहरूले हात-हतियार लिएर यहूदीहरू तिनीहरूका स्वास्नीहरू, छोरा-छोरीहरूमाथि हमला गर्नेलाई यहूदीहरूले तिनीहरूको सामनामा लडाइँ गर्न र मार्न सक्नेछन् अनि तिनीहरू एक-एकलाई नाश पारी तिनका जग्गा-जमिन, धन-सम्पत्ति लिन पाउनेछन् भन्ने पनि लेखिएको थियो।
प्रत्येक सहर र प्रान्तमा, जहाँ-जहाँ राजाको उर्दी पढिएको थियो, यहूदीहरूले आनन्दसाथ उत्सव मनाए र भोज खाए। जसको कारणले यहूदीहरूसित डराएर धेरै अरू जातिका मानिसहरू पनि यहूदी भए।