×

सरल नेपाली पवित्र बाइबल 2008

काम १८

1
[1-2] अय्‍यूब, तपाईंले कहिले बोलिसक्‍ने? तपाईंले सुनिदिए हामी बोल्‍न सक्‍नेथियौं।
2
3
हामी गाई-गोरुजस्‍ता मूर्ख छौं भनी कसरी तपाईं सोच्‍नुहुन्‍छ?
4
आफ्‍नो रिसले तपाईंले आफैंलाई चोट लाउँदै हुनुहुन्‍छ। तपाईं रिसाउँदैमा के पृथ्‍वी खाली हुने हो र? तपाईंलाई शान्‍त गराउन के चट्टानहरू हट्‍ने हुन् र?
5
होइन, बरु दुष्‍टको बत्ती पो निभाइन्‍छ, त्‍यसको आगोको ज्‍वाला फेरि कहिल्‍यै बल्‍नेछैन।
6
त्‍यसको पालको दियो निभ्‍नेछ।
7
त्‍यसका पाइलाहरू दरिला थिए, तर अब ती लर्बरिन्‍छन्। त्‍यो आफ्‍नै युक्‍तिले गर्दा लड्छ।
8
त्‍यो जालमा पर्छ र उसको खुट्टा अल्‍झिन्‍छ।
9
त्‍यसको कुर्कुच्‍चा पासोमा पर्छ र त्‍यो फन्‍दामा पर्छ।
10
त्‍यसको लागि भूइँमा डोरी र बाटोमा पासो लुकाएर थापेका हुन्‍छन्।
11
डरलाग्‍दा कुराले त्‍यसलाई चारैपट्टिबाट तर्साउँछ र त्‍यसका पाइला-पाइलामा पछ्याउँछ।
12
त्‍यो धनी थियो तर अब भोकै बस्‍छ। विनाश त्‍यसको छेउमा उभिएर पर्खिरहेको छ।
13
एउटा डरलाग्‍दो रोग त्‍यसको शरीरमा लागेको छ, त्‍यसका हात-खुट्टाहरू कुहिन्‍छन्।
14
ढुक्‍कसित बसेकाहरूलाई पालबाट तानेर निकालिन्‍छ र मृत्‍यु-राजको अघि घिसाएर लगिन्‍छ।
15
त्‍यसको डेरामा किटनाशक गन्‍धक छरिएको छ र अब त्‍यहाँ जोसुकैले पनि बास गर्न सक्‍छ!
16
त्‍यसका जरा र हाँगा-बिँगा ओइलिएर सुकेका छन्।
17
देशभित्र र बाहिर त्‍यसको नाम हराएको छ, कसैले त्‍यसको सम्‍झना गर्दैन।
18
त्‍यो यस संसारबाट बाहिर र उज्‍यालोबाट अँध्‍यारोमा धपाइन्‍छ।
19
त्‍यसका कोही साखा-सन्‍तान रहनेछैनन्। त्‍यसका घरमा कोही पनि बाँच्‍नेछैन।
20
त्‍यसको दशा सुनेर पश्‍चिमका मानिसहरू तर्सनेछन् र पूर्वका मानिसहरू भयले काम्‍नेछन्।
21
परमेश्‍वरको केही वास्‍ता नगर्नेहरू र दुष्‍टहरूको गति पनि यस्‍तै हुनेछ।
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्