×

सरल नेपाली पवित्र बाइबल 2008

काम २३

1
[1-2] अब पनि म विरोध गर्दै परमेश्‍वरलाई दु:ख पोखाउँछु म पीडामा छट्‌पटाउँछु।
2
3
उहाँलाई कहाँ भेट्टाउन सकिन्‍छ, त्‍यो मैले जाने त हुन्‍थ्‍यो। उहाँको बासस्‍थानमा पुग्‍न सके पनि हुन्‍थ्‍यो।
4
म आफ्‍नो मुद्दा उहाँको सामुन्‍ने राख्‍नेथिएँ र मेरो पक्षमा सबै कुरा उहाँलाई सुनाउनेथिएँ।
5
तब उहाँले के जवाफ दिनुहुनेथियो र के भन्‍नुहुनेथियो, सो म जान्‍नेथिएँ।
6
के उहाँले आफ्‍नो सम्‍पूर्ण बल मेरो विरुद्धमा प्रयोग गर्नुहुन्‍छ र? तर होइन, उहाँले मेरो बिन्‍ती सुन्‍नुहुनेछ।
7
त्‍यहाँ धर्मी मानिसले आफ्‍नो बिन्‍ती गर्न सक्‍छ। यसैकारण मेरो न्‍यायकर्ताबाट म सधैँको लागि छुटकारा पाउनेथिएँ।
8
मैले उहाँलाई पूर्वमा खोजें, पश्‍चिममा खोजें, तर कतै पनि मैले परमेश्‍वरलाई भेट्टाइनँ।
9
उत्तर र दक्षिणमा परमेश्‍वरले आफ्‍नो काम गर्नुभएको छ। तर मैले चाहिँ उहाँलाई कहीँ देख्‍न सकिनँ।
10
तर उहाँले मेरो हरेक चाल जान्‍नुहुन्‍छ। उहाँले मेरो जाँच लिनुहुँदा म निरन्‍तर सुनझैँ निखुर पाइनेछु।
11
उहाँले रोजेको बाटोमा म विश्‍वासयोग्‍यसाथ हिँड्दछु। म दायाँ-बायाँ तर्कंदिनँ।
12
म सधैँ परमेश्‍वरको आज्ञापालन गर्दछु। उहाँको वचन मैले मेरो हृदयमा साँचेर राखेको छु।
13
उहाँ बद्लनुहुन्‍न, उहाँको निर्णय उल्‍टाउन सकिँदैन। उहाँले जे रुचाउनुहुन्‍छ, त्‍यो गर्नुहुन्‍छ।
14
मेरा निम्‍ति उहाँले जे विचार गर्नुभएको छ, त्‍यो पूरा गर्नुहुनेछ। उहाँसित त्‍यस्‍ता अरू धेरै सङ्कल्‍पहरू छन्।
15
यसकारण मलाई उहाँको सामुन्‍ने पर्दा डर लाग्‍छ। उहाँको बारेमा सोच्‍दा म भयभीत हुन्‍छु।
16
[16-17] अनि अँध्‍यारोले मलाई अन्‍धो तुल्‍याएको छ र पनि अन्‍धकारले त होइन, तर सर्वशक्तिमान् परमेश्‍वरले पो मलाई भयभीत पार्नुभएको छ।
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्