×

नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012

भजनमा ४१

1
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ।
2
परमप्रभुले त्‍यसको रक्षा गर्नुहुनेछ, र त्‍यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्‍यसलाई पृथ्‍वीमा आशिष्‌ दिनुहुनेछ, अनि त्‍यसलाई त्‍यसका शत्रुहरूको इच्‍छामा छोड्‌नुहुनेछैन।
3
परमप्रभुले त्‍यसलाई त्‍यसको बिरामीको ओछ्यानमा सम्‍हाल्‍नुहुनेछ, अनि त्‍यसलाई फेरि स्‍वास्‍थ्‍य प्रदान गर्नुहुनेछ।
4
मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
5
मेरा शत्रुहरू द्वेषसाथ यसो भन्‍छन्‌, “त्‍यो कहिले मर्ला, र त्‍यसको नाउँनिशानै मेटिएला?”
6
जब मलाई हेर्न कोही आउँछ, त्‍यसले झूटो कुरा बोल्‍छ, र त्‍यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्‍यसले मेरो निन्‍दाका कुरा फैलाउँछ।
7
मलाई घृणा गर्नेहरू सबै जम्‍मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्‌, मेरो विरुद्धमा तिनीहरू यसो भन्‍दै मेरो अनिष्‍ट चिताउँछन्‌:
8
“त्‍यसलाई घातक रोगले पक्रेको छ, त्‍यो जहाँ पस्रेको छ त्‍यहाँबाट उठ्‌नेछैन।”
9
मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ।
10
तर हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्‌, मलाई खड़ा गर्नुहोस्‌, र म तिनीहरूसँग बदला चुकाउन सकूँ।
11
म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन।
12
मेरो सत्‍यनिष्‍ठामा तपाईंले मलाई सम्हाल्‍नुहुन्‍छ, र सदासर्वदा तपाईंको उपस्‍थितिमा मलाई राख्‍नुहुन्‍छ।
13
इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌, आमेन अनि आमेन।
Nepali Bible (NNRV) 2012
Nepali New Revised Version Nepal Bible Society 1997, 2006, 2009, 2012
:
नोटहरू बचत गर्नुहोस्