×

नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012

भजनमा ६

1
सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा शिमिनिथअनुसार दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्‌।
2
ममाथि दया गर्नुहोस्‌, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्‌, किनकि मेरा हाड़हरूमा पीडा छ।
3
मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्‍म, हे परमप्रभु, कहिलेसम्‍म पर्खनु?
4
मतिर फर्कनुहोस्‌, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्‌। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्‌।
5
मृत्‍युमा तपाईंको सम्‍झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्‍छ र?
6
आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।
7
शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्‌।
8
हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ।
9
परमप्रभुले कृपाको निम्‍ति मेरो पुकार सुन्‍नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्‍छ।
10
मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्‌, र ज्‍यादै घबराउनेछन्‌, र पलभरमा लज्‍जित भएर पछि हट्‌नेछन्‌।
Nepali Bible (NNRV) 2012
Nepali New Revised Version Nepal Bible Society 1997, 2006, 2009, 2012
:
नोटहरू बचत गर्नुहोस्