×

सरल नेपाली पवित्र बाइबल 2008

भजनमा ७३

1
इस्राएलको लागि र शुद्ध हृदय भएकाहरूको लागि परमेश्‍वर साँच्‍चै असल हुनुहुन्‍छ।
2
तर मैले आफ्‍ना विश्‍वास र भरोसा प्राय: हराइसकेको थिएँ,
3
किनभने मैले दुष्‍टहरूको सबै कुरामा फलिफाप भएको देखें र अहङ्कारीहरूसँग ईर्ष्‍या गरेको थिएँ।
4
तिनीहरूले दु:ख-कष्‍ट भोग्‍दैनन्, तिनीहरू बलिया र स्‍वस्‍थ हुन्‍छन्।
5
अरू मानिसहरूले झैँ तिनीहरू दु:ख पाउँदैनन्; अरूले भोगेझैँ तिनीहरूले कष्‍ट भोग्‍दैनन्।
6
यसर्थ तिनीहरूले अहङ्कारलाई मालाजस्‍तै लाउँछन् र हिँसालाई खास्‍टोजस्‍तै ओढ्छन्।
7
तिनीहरूका हृदयदेखि खराबी निस्‍कन्‍छ र तिनका मन दुष्‍ट युक्तिहरू निकाल्‍नमा व्‍यस्‍त रहन्‍छन्।
8
तिनीहरू अरूमाथि हाँस्‍छन् र खराब कुरा बोल्‍छन्। तिनीहरू घमण्‍डी छन् र अरूलाई सताउने युक्तिहरू रच्‍छन्।
9
स्‍वर्गका परमेश्‍वरबारे तिनीहरूले दुष्‍ट कुरा भन्‍छन् र पृथ्‍वीका मानिसहरूलाई घमण्‍डले भरिएका आज्ञा दिन्‍छन्।
10
यहाँसम्‍म कि परमेश्‍वरका आफ्‍ना प्रजा पनि तिनीहरूतिर फर्कन्‍छन् र तिनीहरूले भनेका कुरा झट्टै पत्‍याउँछन्।
11
तिनीहरू भन्‍छन्, “परमेश्‍वरले जान्‍नुहुनेछैन, सर्वोच्‍च परमेश्‍वरले थाहा पाउनुहुनेछैन।”
12
दुष्‍टहरू त्‍यस्‍ता हुन्‍छन्, तिनीहरूसँग प्रशस्‍त छ र तिनीहरूले सधैँ अझै धेरै पाइरहेका छन्।
13
त के, मैले आफैंलाई पवित्र राखेको र पाप नगरेकोमा व्‍यर्थ छ र?
14
हे परमेश्‍वर, तपाईंले मलाई सारा दिन कष्‍ट भोग्‍न लगाउनुभएको छ, हरेक बिहान तपाईंले मलाई दण्‍ड दिनुभएको छ।
15
मैले यस्‍ता कुराहरू भनेको भएदेखि ता मैले तपाईंका मानिसहरूले जस्‍तो काम गरेको हुनेथिइनँ।
16
यस कुरामाथि मैले विचार गर्ने चेष्‍टा गरें, तर त्‍यो मेरो लागि अति कठिन थियो।
17
तपाईंको मन्‍दिरभित्र गएपछि मात्र दुष्‍टलाई के हुनेछ, सो मैले बुझें।
18
तपाईंले तिनीहरूलाई चिप्‍ला ठाउँहरूमा राख्‍नुहुनेछ र तिनीहरूलाई नाश पारी लडाउनुहुनेछ।
19
झट्टै तिनीहरू नष्‍ट हुनेछन्, तिनीहरूको अन्‍त डरलाग्‍दो हुनेछ।
20
तिनीहरू बिहान हराउने सपनाजस्‍ता हुन्‍छन्; हे प्रभु, जब तपाईं उठ्‍नुहुन्‍छ, तिनीहरू हराउनेछन्।
21
जब मेरा सोच-विचार तीता थिए र मेरो मनमा चोट परेको थियो,
22
म पशुझैँ मूर्ख बनेको थिएँ र मैले तपाईंलाई बुझिनँ।
23
तरै पनि, म सधैँ तपाईंको नजिक बस्‍दछु र तपाईंले मेरो हात सह्माल्‍नुहुन्‍छ।
24
तपाईंले आफ्‍नो शिक्षाले मलाई डोर्‍याउनुहुन्‍छ र अन्‍तमा मलाई आदरसाथ ग्रहण गर्नुहुनेछ।
25
स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? तपाईं हुँदाहुँदै मलाई पृथ्‍वीमा अरू कुन थोक चाहिन्‍छ र?
26
मेरा शरीर र मन दुवै दुर्बल हुन सक्‍छन्, तर परमेश्‍वर मेरा सामर्थ्‍य हुनुहुन्‍छ, मलाई चाहिने उहाँ मात्र हुनुहुन्‍छ।
27
तपाईंलाई त्‍याग्‍नेहरू निश्‍चय नाश हुनेछन्, तपाईंलाई विश्‍वास नगर्नेहरूलाई तपाईंले ध्‍वंस पार्नुहुनेछ।
28
तर मेरो निम्‍ति परमेश्‍वरको नजिक रहन पाउनु, सार्वभौम परमप्रभुको सुरक्षा पाउनु, र उहाँका कामबारे वर्णन गर्नु कति उदेकको कुरा हो!
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्