इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्केको दोस्रो महिनाको पन्ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्थानमा आइपुगे।
अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।”
तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून्। यसरी तिनीहरू मेरा आदेशमा हिँड्छन् कि हिँड्दैनन् सो म जाँच गर्न सकूँला।
अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?”
फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।”
“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।”
इस्राएलीहरूले त्यो देखेर आपसमा भन्न लागे, “यो के हो?” किनकि तिनीहरूले त्यो के हो भनी जान्दैनथे। मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनुभएको रोटी हो।
तर तिनीहरूमध्ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्यसबाट केही भाग बिहानसम्मै राखे। तर त्यसमा कीरा लागेर गन्हाउन लाग्यो। मोशा तिनीहरूसित क्रोधित भए।
तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्नु छ, सो उमाल। जति उब्रिन्छ त्यो आफ्नो निम्ति बिहानसम्मलाई राख’।”
याद राख, कि परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ। यसैकारण परमप्रभुले तिमीहरूका निम्ति छैटौँ दिनमा दुई दिनको भोजन दिनुहुन्छ। सातौँ दिनमा तिमीहरू हरेक जहाँ छौ त्यहीँ नै बसिरहनू, कुनै पनि मानिस आफ्नो डेराबाट बाहिर नजाओस्।”
मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा उजाड़-स्थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्ताहरूले त्यो देखून् भनेर त्यसबाट एक ओमेर पुस्तौँ-पुस्तौँसम्म राख’।”