×

नेपाली समकालीन संस्करण 2021

प्रस्थान ३३

1
तब याहवेहले मोशालाई भन्‍नुभयो, “तँ र तैँले इजिप्टबाट निकालेर ल्याएका मानिसहरू यस ठाउँलाई छोडेर मैले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा ‘म यो तिमीहरूका सन्तानहरूलाई दिनेछु’ भनेको देशमा जानू।
2
म एउटा दूतलाई तिमीहरूको अगि-अगि पठाउनेछु; अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाइदिनेछु।
3
दूध र मह बग्ने देशमा जाओ। तर म तिमीहरूसित जानेछैनँ; किनकि तिमीहरू हठी मानिसहरू भएका हुनाले सायद म तिमीहरूलाई बाटैमा नाश गरुँला।”
4
जब मानिसहरूले यस्तो पीडादायक कुरा सुने, तब तिनीहरूले शोक गर्न थाले; अनि कसैले पनि कुनै गहना लगाएनन्।
5
किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू हठी मानिसहरू हौ। यदि म केही समयको लागि मात्र पनि तिमीहरूसित जानुपर्‍यो भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूका आफ्ना गहनाहरू फुकाल र तिमीहरूलाई के गर्नुपर्छ, सो म निर्णय गर्नेछु।’ ”
6
यसकारण इस्राएलीहरूले होरेब पर्वतमा आफ्ना सबै गहनाहरू फुकाले।
7
अब मोशाले एउटा पाल लिएर त्यसलाई “समागम पाल” भनेर छाउनीदेखि केही टाढासम्म टाँग्ने गर्थे। याहवेहसित भेट गर्न चाहने जोसुकै पनि छाउनीबाहिर भएको समागम पालमा जान्थ्यो।
8
अनि जहिले-जहिले मोशा बाहिर पालमा निस्कन्थे, तब सबै मानिसहरू मोशा पालभित्र नपसुन्जेल आफ्ना पालहरूका प्रवेश द्वारहरूमा हेर्दै उभिरहन्थे।
9
जब मोशा पालभित्र पस्थे, याहवेह तिनीसित बोल्नुहुँदा बादलको खामो ओर्लेर पालको ढोकामा खडा रहन्थ्यो।
10
जब-जब मानिसहरू बादलको खामो पालको ढोकामा खडा भएको देख्थे; तिनीहरू आ-आफ्ना पालको ढोकामा उभिएर आराधना गर्दथे।
11
कुनै मानिस आफ्नो मित्रसित बोलेझैँ याहवेह मोशासित आमने-सामने बोल्नुहुन्थ्यो। त्यसपछि मोशा छाउनीमा फर्कन्थे, तर तिनको जवान सहायक नूनका छोरा यहोशूले पाल छाड्दैनथे।
12
मोशाले याहवेहलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई डोर्‍याउनू,’ भन्दै आउनुभएको छ; तर तपाईंले मसित कसलाई पठाउनुहुनेछ, त्यो भन्‍नुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नामले नै चिन्छु, र तँमाथि मेरो निगाह परेको छ।’
13
यदि तपाईं मसित प्रसन्‍न हुनुहुन्छ भने मलाई तपाईंका मार्ग सिकाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ; अनि तपाईंको निगाह पाइरहन सकूँ। स्मरण रहोस्, यो जाति तपाईंकै मानिसहरू हुन्।”
14
याहवेहले जवाफ दिनुभयो, “मेरो उपस्थिति तँसित जानेछ; अनि म तँलाई विश्राम दिनेछु।”
15
तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हाम्रो साथमा जाँदैन भने त हामीलाई यहाँबाट नलैजानुहोस्।
16
तपाईं हामीसित नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौँ भनेर हामीले कसरी जान्‍ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्‍नै ठहरिन्छौँ?”
17
तब याहवेहले मोशालाई भन्‍नुभयो, “तैँले भनेकै कुरा म गर्नेछु; किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्; र मैले तँलाई तेरो नामले चिनेको छु।”
18
तब मोशाले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”
19
याहवेहले भन्‍नुभयो, “म तेरै सामु मेरो सारा भलाइ देखाउनेछु; र तेरै सामु याहवेह नामको घोषणा गर्नेछु। जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु। जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”
20
उहाँले भन्‍नुभयो, “तर तैँले मेरो अनुहार हेर्न सक्दैनस्; किनकि मेरो अनुहार हेरेर कुनै मानिस जीवित रहन सक्दैन।”
21
त्यसपछि याहवेहले भन्‍नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ चट्टानमाथि खडा हुन सक्छस्।
22
जब मेरो महिमा त्यहाँबाट भएर जान्छ; म तँलाई चट्टानको धाँदोमा राख्नेछु; अनि म नगइन्जेल तँलाई आफ्नो हातले छोपिराख्नेछु।
23
त्यसपछि म आफ्नो हात हटाउनेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्; तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
Nepali Bible 2021
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™ प्रतिलिपि अधिकार 1998, 2006, 2021 Biblica, Inc. अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ। Nepali Contemporary Version™, New Testament 1998, 2006, 2021 by Biblica, Inc
:
नोटहरू बचत गर्नुहोस्