तब याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ”
तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।”
मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।”
फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्वरझैँ अरू कोही छैन भन्ने जान्न सक्नुहुनेछ।
फेरि याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्नेछ।”
तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने।
फेरि याहवेहले मोशालाई भन्नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।
तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ।
“ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्नेछस्।
अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।
तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्नेछैनन् र?
फारोले भने, “म तिमीहरूलाई उजाडस्थानमा गएर याहवेह तिमीहरूका परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनेछु; तर धेरै टाढा नजाओ। अब मेरा निम्ति प्रार्थना गरिदेओ।”
मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्चय गर्नुहोला।”