मैले आफ्नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्यो पनि व्यर्थै रहेछ भनी प्रमाणित भयो।
दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्ल तुल्याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्ति असल काम के हो सो जान्न भनी मैले इच्छा गरें।
मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्दा धेरै गाईबस्तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्।
मैले मेरो निम्ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्त्रीगृह पनि मानिसका हृदयको मनोरञ्जनको निम्ति प्राप्त गरें।
मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।
तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्येक कुरा व्यर्थ थियो। बतासलाई खेदेको जस्तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्धि भएन।
तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन् भनी सोच्नलाई मैले मेरा विचार त्यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्छ र?
अनि कसले जान्दछ, त्यो बुद्धिमान् हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्यर्थ हो।
किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्यसले प्राप्त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्यसको निम्ति काम गरेकै छैन। यो पनि व्यर्थ, र ठूलो दुर्भाग्य हो।
जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुशी तुल्याउने व्यक्तिको निम्ति धन-सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।