अनि म मिश्रीहरूलाई एउटा निष्ठुर मालिकको हातमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि राज्य गर्नेछ,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
परमप्रभुले तिनीहरूमा रिँगटा लाग्ने आत्मा हालिदिनुभएको छ, र मतवाला मानिस आफ्नै बान्तामा धरमरिँदै हिँड़ेझैँ तिनीहरूले मिश्रदेशलाई आफूले गरेका सबै काममा ढलमल गर्ने पारिदिएका छन्।
अनि यहूदा देशले मिश्रीहरूमा त्रास ल्याउनेछ। यहूदाको नाउँ सुन्ने प्रत्येक डराउनेछ, किनभने सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको विरुद्ध योजना गर्दैहुनुहुन्छ।
त्यस दिन मिश्रदेशका पाँच सहरले कनान देशको भाषा बोल्नेछन्, र सर्वशक्तिमान् परमप्रभुप्रति भक्तिको शपथ खानेछन्। तीमध्ये एउटाको नाउँचाहिँ विनाशको सहर भनिनेछ।
मिश्रदेशमा सर्वशक्तिमान् परमप्रभुको निम्ति त्यो एउटा चिन्ह र साक्षी हुनेछ। अत्याचारीहरूको कारण तिनीहरूले परमप्रभुलाई पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एक जना मुक्तिदाता र एक जना रक्षक पठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।
यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्यस दिन तिनीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदानहरू र अन्नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्ति भाकल गरेर त्यो पूरा गर्नेछन्।
परमप्रभुले मिश्रदेशलाई महामारीद्वारा प्रहार गर्नुहुनेछ। उहाँले तिनीहरूलाई हिर्काउनुहुनेछ, र तिनीहरूलाई निको पनि पार्नुहुनेछ। तिनीहरू परमप्रभुतर्फ फर्कनेछन्। उहाँले तिनीहरूको बिन्ती सुन्नुहुनेछ, र उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।
त्यस दिन मिश्रदेशदेखि अश्शूर देशसम्म एउटा मूलबाटो हुनेछ। अश्शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्शूर देशमा आवतजावत गर्नेछन्। मिश्रीहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्।