×

नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012

यशैया २

1
आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:
2
पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।
3
धेरै मानिसहरूले आएर भन्‍नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।
4
उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।
5
हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्‍योतिमा हिँड़ौं।
6
तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।
7
तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्‍तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्‍ती नै छैन।
8
तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्‍नै हातका कामलाई तिनीहरू पुज्‍दछन्, तिनीहरूका आफ्‍नै औँलाले बनाएका कुरालाई।
9
यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्‍याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्‌।
10
परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!
11
मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ।
12
सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्‍नेहरूमाथि सर्वशक्तिमान्‌ परमप्रभुको यस्‍तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्‍याइनेछन्‌),
13
लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,
14
सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि,
15
हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,
16
तर्शीशका सबै व्‍यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।
17
मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ,
18
र मूर्तिहरू बिलकुलै लोप हुनेछन्‌।
19
जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌।
20
त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌।
21
जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।
22
नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?
Nepali Bible (NNRV) 2012
Nepali New Revised Version Nepal Bible Society 1997, 2006, 2009, 2012
:
नोटहरू बचत गर्नुहोस्