सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे इस्राएल, तेरो सृजना गर्ने परमप्रभु यसो भन्नुहुन्छ, “नडरा, मैले तँलाई उद्धार गरेको छु। मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्। |
| 2 |
| तँ गहिरो पानीबाट भएर जाँदा म तँसित हुनेछु। तेरा कष्टले तँलाई अत्याउनेछैन। तँ आगोको बीचबाट भएर जाँदा जल्नेछैनस्। तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन |
| 3 |
| किनभने म परमप्रभु तेरा परमेश्वर हुँ, इस्राएलका पवित्र परमेश्वर, जसले तँलाई बचाउँछ। म तँलाई छुटकारा दिन मिश्रदेश, तेरो सट्टामा कूश र सेबा देशहरू दिनेछु। |
| 4 |
| तेरो प्राण बचाउन तेरो सट्टामा म सबै जातिहरू दिनेछु किनभने तँ मेरो निम्ति अति बहुमूल्य छस्। अनि मैले तँलाई आदर दिएको छु र प्रेम गर्दछु। |
| 5 |
| नडरा, म तँसित छु! “पूर्व र पश्चिमका देशबाट म तेरा सन्तानहरूलाई बटुलेर घर ल्याउनेछु। |
| 6 |
| तिनीहरूलाई छोडिदिन म उत्तर दिशालाई भन्नेछु र तिनीहरूलाई नरोक्न दक्षिण दिशालाई भन्नेछु। मेरा सन्तानहरू टाढा देशबाट, संसारका हरेक कुनाबाट फर्किआऊन्। |
| 7 |
| तिनीहरू मेरा आफ्नै सन्तानहरू हुन्। मेरै महिमा ल्याउन मैले तिनीहरूको सृजना गरें।” |
| 8 |
| परमेश्वर भन्नुहुन्छ, “मेरा प्रजालाई अदालतमा हाजिर गर, आँखा छँदाछँदै पनि तिनीहरू अन्धा छन्। कान छन् तर पनि तिनीहरू बहिरा छन्! |
| 9 |
| मुद्दामा सबै जातिहरूलाई हाजिर गराओ। तीमध्ये कसले भविष्यका कुरा बताउन सक्छ? वा अहिले के भइरहेको छ, सो अघिबाट बताएको थियो? आफू ठीक छौ भनी प्रमाण दिनलाई र आफ्ना शब्द सत्य छन् भनी साक्षी दिन लाउनलाई तिनीहरूले आ-आफ्ना साक्षीहरू ल्याऊन्। |
| 10 |
| “हे इस्राएलका मानिसहरू हो, तिमीहरू मेरा साक्षी हौ। तिमीहरूले मलाई चिन र विश्वास गर र म एक मात्र परमेश्वर हुँ भनी बुझ भनेर मैले तिमीहरूलाई मेरा सेवक हुनलाई छानें। मबाहेक अरू कोही परमेश्वर छैन, त्यस्तो कहिल्यै थिएन र कहिल्यै हुने पनि छैन। |
| 11 |
| “म एक मात्र परमप्रभु हुँ, मबाहेक बचाउन सक्ने अरू कोही पनि छैन। |
| 12 |
| के-के हुनेछ, त्यो मैले अघिबाटै भनें र तिमीहरूलाई मद्दत गर्न आएँ। कुनै विदेशी देवताले त्यसो कहिल्यै गरेको छैन— तिमीहरू मेरा साक्षी हौ। |
| 13 |
| म परमेश्वर हुँ र सदा रहिरहनेछु। कोही मेरो शक्तिबाट भाग्न सक्दैन, कसैले मेरो काम बदल्न सक्दैन।” |
| 14 |
| इस्राएलका पवित्र परमेश्वर, तिमीहरूलाई बचाउनुहुने परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई बचाउन म बेबिलोनको विरुद्धमा एउटा सेना पठाउनेछु, म सहरका मूल-ढोकाहरू फोडिदिनेछु र त्यहाँका मानिसहरूको सोर रुवाइमा फेरिनेछ। |
| 15 |
| म परमप्रभु, तिमीहरूका पवित्र परमेश्वर हुँ। हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको सृष्टि गरें, म तिमीहरूको राजा हुँ।” |
| 16 |
| उहिल्यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो, उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग। |
| 17 |
| एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो। तिनीहरू कहिल्यै नउठ्ने गरी लोटे, दियोको ज्वाला निभाएझैँ तिनीहरू निभाइए! |
| 18 |
| तर परमप्रभु भन्नुहुन्छ, “बितेका कुराहरू याद नगर, उहिलेका घटनाहरू सम्झिनबस्। |
| 19 |
| मैले के नयाँ कुरा गर्दै छु, त्यो हेर। त्यो कुरा भइरहेको छ, त्यो अहिले तिमीहरू देख्न सक्छौ! म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्नेछु, त्यहाँ खोला बहाउनेछु। |
| 20 |
| जङ्गली जनावरहरूले पनि मलाई आदर गर्नेछन् अनि स्याल र शुतुरमुर्गले मेरो प्रशंसा गाउनेछन्, जुन बेला आफ्ना छानेको प्रजालाई पानी दिन म मरुभूमिमा खोलाहरू बहाउनेछु। |
| 21 |
| ती मैले आफ्नै निम्ति सृजेका मानिसहरू हुन् र तिनीहरूले मेरो प्रशंसा गाउनेछन्!” |
| 22 |
| परमप्रभु भन्नुहुन्छ, “ए इस्राएल, तँ मसित थाकिसकेको थिइस्, तैँले मलाई पुकार्दैनथिस्, |
| 23 |
| तैँले मलाई भेडाको होमबलि चढाउँदैनथिस् तैँले बलि चढाएर मेरो आदर गर्दैनथिस्। मैले भेटीहरू मागेर तँलाई भार दिएको थिइनँ, न त धूप-बत्ती मागेर तँलाई थकाउँथें। |
| 24 |
| तैँले मेरो निम्ति धूप किन्दैनथिस् न त तेरो बलिका बोसोले मलाई सन्तुष्ट पार्दथिस्। त्यसका सट्टामा तैँले मलाई तेरो पापको बोझ बोकाउँथिस्, आफूले गरेको अपराधले तैँले मलाई थकाउँथिस्। |
| 25 |
| तर पनि म तेरा पाप क्षमा दिने परमेश्वर हुँ, म मेरै खातिर यो सबै गर्दछु, म तेरा पापको कति पनि याद गर्नेछैनँ। |
| 26 |
| “आइज, हामी बितेका कुराहरू दोहोर्याएर छलफल गरौं! तँ ठीक छस् भनी प्रमाण दिन आफ्ना मुद्दा पेश गर्! |
| 27 |
| तेरा पहिलेका पुर्खाले पाप गरे, तेरा अगुवाहरूले मेरो विरुद्ध पाप गरे, |
| 28 |
| यसकारण मैले पवित्रस्थानका अधिकारीहरूलाई लाजमा पारेको थिएँ। मैले इस्राएलमाथि विनाश ल्याएको थिएँ, मैले आफ्नै प्रजालाई बदनाम हुन दिएको थिएँ।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/isaiah/043.mp3
66
43