“बेबिलोनका देवताहरूको अन्त यही हो! एक समयमा बेल र नेबो देवताको पूजा गरिन्थ्यो, तर अहिले ती गधाहरूमाथि लादिएका छन्, थाकेका पशुहरूका पिठ्युँमा ती बोझ बनेका छन्।
म तिमीहरूका परमेश्वर हुँ, तिमीहरू बुढो भएर केश पाक्दा पनि म तिमीहरूको हेरचाह गर्नेछु। मैले तिमीहरूलाई बनाएँ र तिमीहरूको हेरचाह गर्नेछु, म तिमीहरूलाई मद्दत गर्नेछु र छुटकारा दिनेछु।
मानिसहरूले आफ्ना थैलाहरू खोल्छन् र सुन निकाल्छन्, तराजुमा चाँदी जोख्छन्। सुनारलाई ज्याला दिएर देवताको मूर्ति बनाउन लगाउँछन् र घोप्टेर त्यसलाई पुज्छन्!
तिनीहरूले त्यसलाई काँधमा लिएर बोक्छन्, त्यसका ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। त्यहाँबाट त्यो यताउता सर्न सक्दैन। कसैले त्यसलाई प्रार्थना गर्यो भने त्यसले उत्तर दिन सक्दैन वा कुनै आपत्-विपत्तिबाट जोगाउन सक्दैन।
सुरुदेखि नै अन्तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्नो इच्छाअनुसार म सबै कुरा गर्नेछु।