×

सरल नेपाली पवित्र बाइबल 2008

यशैया ४७

1
परमप्रभु भन्‍नुहुन्‍छ, “ए बेबिलोनिया, तेरो सिंहासनबाट ओर्लिआइज र जमिनमा धुलोमाथि बस्। एक समय तँ कन्‍या-केटीजस्‍तै थिइस्, तर तँ अब कोमल र सुकुमारी छैनस्!
2
जाँतो घुमा! पिठो पिंध! घुम्‍टो हटा! फरिया माथि सार्‌! आफ्‍नो जाँघ देखाएर खोला तर्‌!
3
मानिसहरूले तेरो नग्‍नता देख्‍नेछन्। तँ होच्‍याइएको र लज्‍जित भएको देख्‍नेछन्; म साटो फेर्नेछु, म कसैलाई छोड्‍नेछैनँ।”
4
इस्राएलका पवित्र परमेश्‍वरले हामीलाई छुटकारा दिनुहुनेछ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।
5
परमप्रभुले बेबिलोनियालाई भन्‍नुहुन्‍छ, “चुप लागेर अन्‍धकारमा बस्। तँलाई अब कसैको जाति-जातिकी रानी भन्‍नेछैन!
6
म मेरा प्रजासित रिसाएको थिएँ, मैले तिनीहरूलाई आफ्‍ना निज प्रजाजस्‍तो व्‍यवहार गरिनँ, मैले तिनीहरूलाई तेरा हातमा दिएँ। तर तैँले तिनीहरूमाथि केही दया देखाइनस्, बुढापाकाहरूसित पनि तैँले कठोर व्‍यवहार गरिस्।
7
“म सधैँ रानी नै रहनेछु भनी तैँले विचार गरिस्, तैँले यी सबै कुरा मनमा राखिनस् वा यी सबैको अन्‍त कस्‍तो होला भनी सोचिनस्।
8
ए! तँ सुख-विलास मन पराउने, यो कुरा सुन्। म कुशल र सुरक्षित छु, परमेश्‍वर जतिकै महान् छु र मजस्‍तो अरू कोही छैन भनी तैँले ठानेकी थिई। म कहिल्‍यै विधवा हुनेछैनँ अथवा मेरा छोरा-छोरीहरूको बिजोग देख्‍नुपर्नेछैन भनी तैँले सोचेको थिइस्।
9
तर यी कुराहरू तँमाथि एकै घडी, एकै दिनमा पूर्णरूपले आइपर्नेछन्‌, तैँले जत्तिकै टुना-मुना र मन्‍त्र-तन्‍त्र चलाए पनि तेरा छोरा-छोरीहरू मर्नेछन्, तँ विधवा हुनेछे।
10
“आफ्‍नो दुष्‍टतामा तँ ढुक्‍कसित चल्‍थिस्, कसैले मलाई देख्‍नेछैन भनी तँ भन्‍ठान्‍थिस्। तेरा ज्ञान र बुद्धिले तँलाई कुबाटोमा लगे र तैँले आफ्‍नो मनमा ‘म नै हुँ’ भन्‍थिस्, ‘मजस्‍तो अरू कोही छैन।’
11
तँमाथि डरलाग्‍दो विपत्ति आइपर्नेछ र तेरो टुना-मुनाले त्‍यो रोक्‍न सक्‍नेछैन। अचानक विनाश तँमाथि आइपर्नेछ, तैँले सपनामा नचिताएको विनाश आइपर्नेछ!
12
तेरा जम्‍मै तन्‍त्र-मन्‍त्र र टुना-मुना अझै खेलाइराख्, ती सबै त तैँले सानै उमेरदेखि चलाइरहिस्। सायद ती कुराहरूले तँलाई केही मद्दत गरिहाल्‍लान् कि वा तैँले आफ्‍ना शत्रुहरूलाई तर्साउन सक्‍छे कि।
13
तैँले पाएका सबै सल्‍लाहहरूले तँलाई थकाएको छ। तारा हेर्ने र तिनका ठाउँ खुट्ट्याउने र महिना-महिना के-कस्‍तो हुन्‍छ भनी बताउने तेरा ती ज्‍योतिषीहरू अघि आएर तँलाई बचाऊन्।
14
“तिनीहरू परालका टुक्राझैँ हुनेछन्, आगाले तिनीहरूलाई स्‍वाहा पार्नेछ! तिनीहरूले आफ्‍नै बचाउ पनि गर्न सक्‍नेछैनन्। ज्‍वालाले तिनीहरूलाई डढाइहाल्‍नेछ; ताप्‍ने खालको न्‍यानो आगोझैँ हुँदैन।
15
तैँले आफ्‍ना जीवनभरि हेराएका ज्‍योतिषीहरूले तँलाई त्‍यति नै मात्र भलाइ गर्न सक्‍नेछन्। तँलाई छोडेर तिनीहरू आफ्‍नै बाटो लाग्‍नेछन् र तँलाई बचाउन कोही पनि रहनेछैन।”
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्