केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्मा हुनेछन्। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्। तिनीहरू बलि स्वरूप मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, र मेरो महिमाको मन्दिरलाई म सिँगार्नेछु।
“विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु।
तैंले जाति-जातिहरूको दूध पिउनेछस् र राजकीय थुन चुस्नेछस्। त्यस बेला तैंले यो जान्नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ।
काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्याउनेछु। शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु।
तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।
दिनमा सूर्यले फेरि कहिल्यै तँलाई ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्योति, र तेरा परमेश्वरचाहिँ तेरो महिमा हुनुहुनेछ।
तब तेरा सबै प्रजा धर्मात्मा हुनेछन्, र तिनीहरूले सदाको निम्ति देशको अधिकार गर्नेछन्। मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा, मेरो हातका काम हुन्।