तँ फेरि कहिल्यै ‘त्यागिएकी’ भनिनेछैनस्। तेरो देश फेरि कहिल्यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ।
जसरी एक जना जवान केटाले कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छ, त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ।
परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्ति तैंले परिश्रम गरेको थिइस्, त्यो विदेशीले कहिल्यै खान पाउनेछैनन्।
तर जसले अन्न कटनी गर्छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्। र जसले दाख जम्मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्थानको चोकमा त्यो पिउनेछन्।”
परमप्रभुले पृथ्वीको पल्लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”