एदोमबाट, बोज्राबाट गाढ़ा रातो रङ्गले रँगाएका वस्त्रसित आउनुहुने को हो? रवाफिलो वस्त्र र आफ्नो शक्तिको बढ्पनमा आउँदैगर्नुहुने को हो? “धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थी म हुँ!”
“मैले एकलै दाख-कुण्ड पेलें, जातिहरूमध्ये कोही पनि मसित थिएन। मैले रीसमा तिनीहरूलाई पेलें, र मेरो क्रोधमा तिनीहरूलाई कुल्चें। तिनीहरूको जीवन-रक्त मेरो पोशाकमा छ्यापियो, र मेरो सबै वस्त्र रगतै-रगत भयो।
मैले हेरें, तर सहायता गर्ने कोही पनि थिएन। सहारा दिने कोही पनि नदेखेर म छक्क परें, यसैले मेरो आफ्नै बाहुबलले मेरो उद्धार गर्यो, र मेरो क्रोधले मलाई सम्हाल्यो।
परमप्रभुले हाम्रा निम्ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्य गर्नुभयो।
तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्नुभयो।
तब उहाँका प्रजाले प्राचीनका दिनलाई, अर्थात् मोशा र तिनका प्रजाका दिनलाई सम्झे। समुद्रबाट उहाँको बगालका गोठालासमेत तिनीहरूलाई ल्याउने कहाँ हुनुहुन्छ? आफ्ना पवित्र आत्मा तिनीहरूका बीचमा राख्ने कहाँ हुनुहुन्छ—
जसले आफ्नो प्रतापी बाहु मोशाको दाहिने हाततिर पठाउनलाई बढ़ाउनुभयो, जसले आफ्नो नाउँ अनन्तको निम्ति प्रसिद्ध राख्नलाई तिनीहरूकै सामुन्ने पानीलाई दुई भाग गर्नुभयो,
स्वर्गबाट हेर्नुहोस्, र आफ्नो उच्च र पवित्र र महिमित सिंहासनबाट तल दृष्टि गर्नुहोस्। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्।
तर तपाईं त हाम्रा पिता हुनुहुन्छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो।
हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्याउनुहुन्छ, र तपाईंलाई सम्मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्छ? तपाईंको निज उत्तराधिकार भएका कुलहरूका खातिर, तपाईंका दासहरूका खातिर फर्कनुहोस्।