आगोमा पानी उम्लेझैँ तिनीहरू थरथरी काम्नेथिए। आउनुहोस् र आफ्नो शक्ति आफ्ना शत्रुहरूलाई प्रकट गर्नुहोस् र आफ्नो उपस्थितिले जाति-जातिलाई थर्कमान पार्नुहोस्!
ठीक कुरो गर्न आनन्द पाउनेहरू र तपाईंको बाटोमा हिँड्नेहरूलाई तपाईंले सहायता गर्नुहुन्छ, तपाईं हामीहरूसित रिसाउनुभयो तर हामीले पाप गरिरह्यौं, तपाईंको महान् क्रोध छँदाछँदै पनि हामीले उहिलेको समयदेखि खराबी गर्दै आएका छौं, हामीले कसरी उद्धार पाउन सक्छौं?
हामी सबैले पाप गरेका छौं। हाम्रा उत्तम सम्पूर्ण कार्यहरू पनि पूरै नै मैला थाङ्नाझैँ छन्। हाम्रा पापका कारणले गर्दा हामी ओइलिजाने र बतासले उडाइलैजाने पातझैँ छौं।
कोही प्रार्थना गर्न तपाईंतिर फर्कंदैनन्। कोही मद्दतको लागि तपाईंकहाँ जाँदैनन्। हाम्रा पापले गर्दा तपाईं हामीदेखि लुक्नुभएको छ र हामीलाई त्याग्नुभएको छ।
र हाम्रा मन्दिर, सुन्दर र पवित्रस्थान, हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्ने सुन्दर र पवित्र मन्दिर आगोले भस्म पारेको छ। हामीले मरिमेटेका सबै थोकहरू ध्वस्त भएका छन्।