तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।”
परमप्रभु यसो भन्नुहुन्छ, “जसरी दाखको झुप्पामा रस पाएर, मानिसहरूले भन्छन्, ‘त्यसलाई नबिगार्, किनकि त्यसमा अझै राम्रो रस होला,’ त्यसरी नै म मेरा सेवकहरूको पक्षमा गर्नेछु, म तिनीहरू सबैलाई नष्ट गर्नेछैनँ।
म याकूबबाट सन्तान-दरसन्तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्पन्न गर्नेछु। मेरा चुनिएकाहरूले त्यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्यहाँ बस्नेछन्।
“तर तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ,
म तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्यानसित सुनेनौ। मेरो दृष्टिमा जे खराब थियो, तिमीहरूले त्यही काम गर्यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्यौ।”
तिमीहरूले आफ्नो नाउँ मेरा छानिएकाहरूका निम्ति सरापको रूपमा छोड्नेछौ, र परमप्रभु परमेश्वरले तिमीहरूलाई मार्नुहुनेछ। तर उहाँले आफ्ना दासहरूलाई अर्को नाउँ दिनुहुनेछ।
जसले यस देशमा आशिष्को आह्वान गर्नेछ, त्यसले साँचो परमेश्वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्।
“थोरै दिनसम्म बाँच्ने बालक वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन। सय वर्षसम्म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्म नबाँच्नेचाहिँ श्रापित मानिनेछ।
तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन। किनकि रूखको आयु जस्तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्।
ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्सानी गर्नेछन्, न नष्ट गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।”