परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले आफ्नी स्वास्नीलाई त्याग्छ र त्यो स्त्रीले उसलाई छोडेर अर्को पुरुषसित बिहे गरी भने त्यस मानिसले फेरि त्यस स्त्रीलाई घर फर्काउन सक्दैन। त्यसो गर्नाले सारा देश बिटुलिनेछ। तर ए इस्राएल, तैँले धेरै प्रेमीहरूसित व्यभिचार गरिस् र फेरि मकहाँ फर्किआउन चाहन्छस्!
योशियाह राजा छँदा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासयोग्य स्त्रीले जस्तै इस्राएलले के-के गर्यो, के तैँले देखिस्? त्यसले मतिर आफ्नो पिठिउँ फर्काई र हरेक डाँडामा र हरेक हरियो रूखमुनि व्यभिचार गरी।
उहाँले मलाई उत्तर दिशामा गएर इस्राएललाई यसो भन्ने आदेश दिनुभयो, “ए अविश्वासी इस्राएल, मतिर फर्की। म कृपालु छु र क्रोध गर्दिनँ, म सधैँ तँसित रिसाउनेछैनँ।
“हे अविश्वासी मानिसहरू हो, मतिर फर्क, म तिमीहरूको स्वामी हुँ। म तिमीहरूलाई हरेक सहरबाट एक जना र हरेक गोत्रबाट दुई जना गरी लिएर सियोन डाँडामा फर्काई ल्याउनेछु।
तब यस देशमा तिमीहरूको सङ्ख्या बढेर अनगिन्ती भएपछि मानिसहरूले मेरा करारको सन्दुकबारे कुरा गर्ने खाँचो पर्नेछैन। तिनीहरूलाई त्यसको खाँचो पर्नेछैन। नत त्यो फेरि बनाइनेछ।
त्यो समय आएपछि यरूशलेम ‘परमप्रभुको सिंहासन’ कहलाइनेछ र त्यहाँ मेरो आराधना गर्नलाई सबै जातिहरू भेला हुनेछन्। तिनीहरू आफ्ना हठी र दुष्ट हृदयका कुराहरूपछि फेरि कहिल्यै लाग्नेछैनन्।
त्यस बेला इस्राएल यहूदासित मिल्नेछ र तिनीहरू एकसाथ उत्तरमा कैदमा रहेका देशबाट फर्केर मैले तिनीहरूका पिता-पुर्खालाई सदाकालको निम्ति दिएको देशमा आउनेछन्।”
परमप्रभु भन्नुहुन्छ, “ए इस्राएल, मैले तँलाई आफ्नो छोरो बनाउन र एउटा सुखमय देश, संसारको सबैभन्दा सुन्दर देश दिन चाहन्थें, तैँले मलाई पिता भनी पुकारेको र मलाई कहिल्यै नछोडेको चाहन्थें।
उजाड-डाँडाहरूमाथि एउटा सोर सुनियो, इस्राएलको रुवाइ र पुकारको सोर किनभने तिनीहरूले पापमा जीवन बिताएका छन् र तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई बिर्सेका छन्।
हाम्रो लाजमा हामी ढल्कौं र हाम्रो अपमान हामीले दोलाइँ ओढौं। हामी र हाम्रा पिता-पुर्खाहरूले सदा परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा पाप गरेका छौं, कहिल्यै हामीले उहाँको आज्ञापालन गरेनौं।”