“यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भई भने, के त्यो मानिसले फेरि त्यसकहाँ फर्केर जानुपर्ने? के त्यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्याझैँ धेरैकहाँ गएकी छस्— र के तँ मकहाँ फर्केर आउँछेस्?” परमप्रभु भन्नुहुन्छ।
योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएलले के गर्यो, के तैंले देखेको छस्? त्यो गएर हरेक डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि त्यसले व्यभिचार गरेकी छ।
त्यस अविश्वासी इस्राएलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्यसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर त्यसले पनि वेश्यावृत्ति गरी।
जा, उत्तरमा गएर यो सन्देश प्रचार गर्: “‘हे अविश्वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्नुहुन्छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्नुहुन्छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।
केवल, तँ, परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा बागी भइस्, र हरेक झ्याम्म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस् भनी आफ्नो दोष स्वीकार गर्’,” परमप्रभु भन्नुहुन्छ।
“फर्क, अविश्वासी प्रजा हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्नेछु र तिमीहरूलाई सियोनमा ल्याउनेछु।
ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्यै ‘परमप्रभुका करारको सन्दूक’ भनी भन्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्यसको सम्झना नै हुनेछैन, त्यसको अनुपस्थितिको केही ख्याल रहनेछैन। त्योजस्तै अर्को फेरि कहिल्यै बनाइनेछैन।
त्यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्। हठी भएर आफ्ना मनका दुष्ट कुराहरूमा तिनीहरू फेरि कहिल्यै लाग्नेछैनन्।
ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्।
“म आफैले भनें, ‘कति खुशीसित आफ्ना छोराहरूजस्तै तिमीहरूसँग व्यवहार गर्नेथिएँ र एउटा सुन्दर देश, जातिहरूमा सबैभन्दा मनपर्दो पैतृक-सम्पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ।
तर जसरी एक विश्वासघाती पत्नीले आफ्नो पतिलाई त्याग्छे, त्यसरी नै तिमीहरू पनि मप्रति विश्वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्नुहुन्छ।
अब हामी आफ्ना लाजमा डुबौं र हाम्रो अपमानले हामीलाई ढाकोस्। हामी र हाम्रा पिता-पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा पाप गर्दैआएका छौं। हामीले आफ्नो युवावस्थादेखि आजको दिनसम्म परमप्रभु हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौं।”