यस्तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्नुहुन्छ।”
सोध र हेर: के पुरुषले छोराछोरी जन्माउन सक्छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्नो हातले पेट समातेको म देख्तछु? किन हरेकको अनुहार मरेको जस्तै पहेँलो भएको छ?
“परमप्रभु भन्नुहुन्छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्तानलाई निर्वासन भएको देशबाट बचाएर ल्याउनेछु। याकूबलाई फेरि शान्ति र सुरक्षा हुनेछ। कसैले त्यसलाई डर देखाउन सक्नेछैन’।
तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्ता गर्दैनन्। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्ठुरले झैँ तँलाई दण्ड दिएँ।
तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।
“परमप्रभु यसो भन्नुहुन्छ: ‘म याकूबका पालको सुख-शान्ति फेरि फिर्ता दिनेछु, र त्यसका बस्ने ठाउँहरूलाई टिठ्याउनेछु। त्यसकै भग्नावशेषमा त्यो सहर फेरि बनाइनेछ, र महल अघिको आफ्नै स्थानमा खड़ा हुनेछ।
तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको सोर सुनिनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु, र तिनीहरू घट्नेछैनन्। म तिनीहरूमा सम्मान ल्याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन।
तिनीहरूको अगुवा तिनीहरूमध्येकै एक जना हुनेछ। तिनीहरूको शासक तिनीहरूकै बीचबाट निस्कनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु, र त्यो मेरो नजिक आउनेछ। किनकि मेरो नजिक आउनलाई कसले आफै भक्ति गर्नेछ?’ परमप्रभु भन्नुहुन्छ।