तापनि सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ।”
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा, जसले तँलाई मकहाँ सोध्नलाई पठायो, त्यसलाई यसो भन्, ‘तँलाई सहायता गर्नलाई आएको फारोको सेना फेरि आफ्नै देश मिश्रमा फर्केर जानेछ।
तिमीहरूका विरुद्धमा लड्ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।”
तर जब तिनी बेन्यामीनको ढोकामा आइपुगे तब हनन्याहका नाति, शेलेम्याहका छोरा गारदका कप्तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”
यर्मियाले भने, “यो कुरो सत्य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्याए।
तब सिदकियाह राजाले तिनलाई झिकाइपठाए, र तिनलाई महलमा ल्याएर गुप्तमा तिनलाई यसो भनेर सोधे, “के परमप्रभुबाट केही कुरा छ?” यर्मियाले जवाफ दिए, “हजूर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”
तर अब हे मेरा प्रभु राजा, बिन्ती छ, ध्यानसित सुन्नुहोस्। मेरो नम्र-निवेदन तपाईंको अगि राख्न दिनुहोस्। मलाई सचिव जोनाथनको घरमा नपठाइदिनुहोस्, नत्रता म त्यहाँ मर्नेछु।”