परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरू फर्किआउन चाहन्छौ भने मकहाँ फर्किआओ। तिमीहरूले ती घिनलाग्दा मूर्तिहरू मेरो सामुन्नेबाट हटायौ र मप्रति विश्वासयोग्य भयौ भने,
यदि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित परमप्रभुलाई साक्षी राखी’ शपथ खायौ भने जाति-जातिहरूले उहाँद्वारा आशिष् पाउनेछन् अनि उहाँमा नै तिनीहरूले गर्व गर्नेछन्।”
हे यहूदा र यरूशलेमका मानिसहरू हो, परमप्रभुसँग बाँधेको करारको चिन्ह अथवा खतना फेरि लगाओ तर यो चिन्ह हृदयमा लगाओ। होइन भने त तिमीहरूका दुष्कर्महरूले गर्दा मेरो क्रोध आगोझैँ दन्कनेछ र कसैले त्यसलाई निभाउन सक्नेछैन।”
गुफाबाट निस्केको एउटा सिंहझैँ जाति-जातिहरूलाई सर्वनाश गर्न निस्केको छ। त्यो यहूदा सहरहरू नाश पार्न आइरहेको छ। यहूदाका सहरहरू नष्ट हुनेछन् र त्यहाँ कोही पनि बास गर्नेछैन।
तब मैले भनें, “सार्वभौम परमप्रभु, तपाईंले यरूशलेमका मानिसहरूलाई पूरा छल्नुभएछ! तपाईंले तिनीहरूलाई शान्ति हुनेछ भन्नुभएको थियो तर तिनीहरूका घाँटीमा तरवार तेर्सिएको छ।”
टाढा देशबाट शत्रुहरू आउँदै छन् भनी यरूशलेमका बासिन्दाहरूलाई र जाति-जातिहरूलाई चेतावनी दिन तिनीहरू आएका छन्। यी शत्रुहरू यहूदाका सहरहरूको विरोधमा कराउनेछन्।
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजा मूर्ख छन्; तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू बुद्धिबिनाका बालकहरूझैँ छन्; तिनीहरूको समझ-शक्ति नै छैन। तिनीहरू दुष्ट काम गर्न सिपालु छन्, तर तिनीहरू भलाइ गर्न चुक्दछन्।”
घोडचढी र धनुर्धारीहरूको सोर सुनेर सबै भाग्नेछन्। कोही बनतिर भाग्नेछन्, अरूहरू चट्टानमाथि चढ्नेछन्, सबै सहरहरू खाली हुनेछन्, फेरि त्यहाँ कोही पनि बस्नेछैन।
व्यथा लागेकी सुत्केरीजस्तो चित्कार पहिलो बच्चा जन्माउने स्त्रीको जस्तो वेदनाको स्वर म सुन्दछु। स्वाँ-स्वाँ गर्दै आफ्ना हात फैलाएर यरूशलेमले यसो भनिरहेको म सुन्दछु, हाय, म नाश भएकी छु! तिनीहरू मलाई मार्न आइरहेछन्!”