“हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने,
परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैँ दन्केर निस्कनेछ, र कसैले ननिभाउने गरी त्यो जल्नेछ।
“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं!’
आफ्नो ओड़ारदेखि एउटा सिंह निस्किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्यो आफ्नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्दारहित भई नष्ट हुनेछन्।
तब मैले भनें, “हाय, परमप्रभु परमेश्वर, हाम्रा घिच्रैमा तरवार आइलाग्दा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।”
त्यस बेला यो प्रजा र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका नाङ्गा डाँड़ाहरूबाट एउटा पोल्ने बतास मेरो प्रजातिर बहन्छ, तर त्यो न त निफन्न न छान्नलाई हुन्छ।
हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्लिन्छ। म चूप लागी रहन सक्दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्वनि मैले सुनेको छु।
“मेरा प्रजा मूर्ख छन्, तिनीहरू मलाई चिन्दैनन्। तिनीहरू बुद्धिहीन बालकहरू हुन्, तिनीहरूको समझशक्ति नै छैन। दुष्ट्याइँ गर्नलाई तिनीहरू सिपालु छन्, तर भलाइ गर्न तिनीहरू जान्दैनन्।”
यसकारण पृथ्वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्केको फैसला हो, र त्यो गर्नदेखि मेरो मन बद्लिनेछैन। यो मैले निश्चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।”
घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्दाहरू भागेर जान्छन्, र तिनीहरूमध्ये कोही झाड़ीहरूमा पस्छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्लेर जान्छन्। सबै सहरहरू निर्जन भएका छन्, त्यहाँ कोही पनि बस्दैन।
हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्? व्यर्थमा तँ आफूलाई सुन्दर बनाउँछेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्यान लिन खोज्छन्।
प्रसववेदनामा परेकी स्त्रीको सोरजस्तो एउटा आवाज म सुन्छु, पहिलो बालक जन्माउने स्त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्दछु, “हाय, म मूर्च्छा खाइरहेकी छु! हत्याराहरूलाई मेरो ज्यान दिइएको छ!”