त्यही वर्षको सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज-घरानाका व्यक्ति र राजाका मूल अफिसरहरूमध्ये एक थिए, गदल्याहसित भेट गर्न अरू दश जना मानिसहरू साथमा लिई मिस्पामा आए। तिनीहरू सबै एकसाथ भोजमा बसेका बेलामा
शकेम, शीलो र सामरियाबाट असी जना मानिसहरू आइपुगे। तिनीहरूले दाह्री खौरेका, लुगा च्यातेका र आफ्नै शरीरमा गहिरा-गहिरा चोट पारेका थिए। तिनीहरूले मन्दिरमा चढाउन अन्न-बलि र धूप ल्याएका थिए।
तर त्यस दलमा दश जना मानिसहरू थिए, जसले इश्माएललाई भने, “कृपा गरी हामीलाई नमार्नुहोस्! हामीसित खेतमा लुकाइराखेका गहुँ, जौ, जैतुनको तेल र मह छ।” यसकारण तिनले तिनीहरूलाई मारेनन्।
इश्माएलले मारेका मानिसहरूका लाश जुन इनारमा फालेका थिए, त्यो कुवा खुब ठूलो थियो। त्यो कुवा आसा राजाले इस्राएलका राजा बाशाले आक्रमण गर्दा खनाएका थिए। इश्माएलले मानिसहरूका लाशले त्यो कुवा भरिदिए।
त्यसपछि तिनले राजाका छोरीहरू र सेनापति नबूजरदानले गदल्याहका जिम्मामा दिइराखेका मिस्पामा भएका अरू मानिसहरूलाई कैद गरे। तिनीहरूलाई कैदी बनाई इश्माएल अम्मोनका ठाउँतिर लागे।
अनि गदल्याहको हत्यापछि मिस्पाबाट कैद गरी इश्माएलले लगेका सिपाहीहरू, स्त्रीहरू र केटाकेटीहरू र नपुंसकहरू सबैका जिम्मा योहानान र उनीसित भएका फौजका कप्तानहरूले लिए।