“‘परमप्रभु भन्नुहुन्छ, त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्।
तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्त्रणा गरेका र पूजा गरेका सूर्य, चन्द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्ने ती हाड़हरू खुला राखिनेछन्। ती जम्मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्तै पड़िरहनेछन्।
यस दुष्ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’।
मैले ध्यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्दैनन्। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पश्चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्नै बाटोतिर लाग्दछ।
आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्।
बुद्धिमान् मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्। तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरेका हुनाले तिनीहरूमा कस्तो बुद्धि छ?
यसकारण म तिनीहरूका पत्नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धनसम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्।
के तिनीहरू आफ्ना घिनलाग्दो चालचलनदेखि लज्जित छन् र? अँहँ, तिनीहरू कत्ति पनि लज्जित छैनन्। लाजले रातो हुनु के हो, तिनीहरू जान्दैनन्। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्ड दिँदा तिनीहरू नष्ट हुनेछन्, परमप्रभु भन्नुहुन्छ।
“हामी किन एकसाथ भेटेर यहाँ बसिरहौं? आओ, हामी किल्ला भएका सहरहरूभित्र जाऔं र त्यहीँ नै नष्ट होऔं। किनकि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई नष्टै हुन भनी ठहराउनुभएको छ, र उहाँले हामीलाई विषालु पानी पिउन दिनुभएको छ, किनभने हामीले उहाँको विरुद्धमा पाप गरेका छौं।
शत्रुहरूका घोड़ाहरूका स्वाँ-स्वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्दा सारा देश नै काम्दछ। उनीहरूले देश र त्यसमा भएका सबै थोकलाई, सहर र त्यसमा बस्ने सबैलाई निलिहाल्न आएका छन्।”
टाढ़ाको देशबाट आएको मेरो प्रजाको रुवाइ सुन्नुहोस्: “के परमप्रभु सियोनमा हुनुहुन्न? के त्यसका महाराजा त्यहाँ हुनुहुन्न?” “तिनीहरूले किन आफ्ना मूर्तिहरूले र तिनीहरूका बेकामका विदेशी देवताहरूले मलाई रीस उठाएका छन्?”