तिनीहरूको हृदय छली छ। अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू नाश गर्नुहुनेछ, तिनीहरूका चोखा ढुङ्गाहरू नाश गरिदिनुहुन्छ।
“हे इस्राएल, गिबाको समयदेखि तैंले पाप गर्न सुरु गरिस्, र अझै त्यसैमा लागिरहेको छस्। दुष्ट काम गर्नेहरूका विरुद्धमा लड़ाइँले के गिबामा तिनीहरूलाई भेट्टाएन?
एफ्राइमचाहिँ दाइँ गर्दा रमाउने सधाइएकी कोरली हो। यसकारण त्यसको सुन्दर काँधमा म जुवा हालिदिनेछु। म एफ्राइमलाई हाँक्नेछु। यहूदाले हलो जोत्नुपर्नेछ, र याकूबले डल्लाहरू फोर्नुपर्नेछ।
आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो, जबसम्म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ।
“तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्नै शक्तिमाथि भर परेका र आफ्नै योद्धाहरूमा भर परेका हुनाले,
तिमीहरूका प्रजाको विरुद्धमा युद्धको गर्जन उठ्नेछ, र लड़ाइँमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै गढ़ीहरू नाश गरिनेछन्— जुन समयमा आमाहरू आफ्ना नानीहरूसँगसँगै टुक्रै-टुक्रा पारिए।