“‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्यो परमप्रभुको शबाथ हो।
“इस्राएलीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।
तिमीहरू यो बलि आफ्ना परमेश्वरको निम्ति जुन दिनसम्म ल्याउँदैनौ त्यस दिनसम्म रोटी, भुटेको अन्न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।
ती रोटीसित एक वर्षे सात वटा निष्खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने मीठो बास्नाको होमबलि होस्।
त्यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।
“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस्। त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्।
“सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्चितको दिन होस्। त्यस दिन तिमीहरूले पवित्र सभा राख्नू। तिमीहरूले आफैलाई इन्कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू।
सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्नू, र तिमीहरूले परमप्रभुको निम्ति एउटा अग्नि-होम चढ़ाउनू। यो समाप्त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू।
(“ ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्। यी चाड़मा परमप्रभुको निम्ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू।
“‘सातौँ महिनाको पन्ध्रौँ दिनमा आफ्नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्।
पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने सात दिनसम्म खुशी मनाउनू।
तिमीहरूले वर्षमा सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्तौँ-पुस्ताका लागि अनन्तको विधि होस्। यो तिमीहरूले सातौँ महिनामा मनाउनू।