परमप्रभुले भन्नुभयो, “पुज्नको निम्ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्बा वा कुँदेको ढुङ्गा नराख्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
तिम्रा खेतको उब्जनी यति प्रशस्त हुनेछ कि अङ्गुर टिप्ने बेला भइसक्दा पनि तिमीहरू आफ्ना अन्नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्न लाउने समय आइसक्दा अङ्गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्त हुनेछ र आफ्ना देशमा सुरक्षासित बास गर्नेछौ।
तिमीहरूका अन्नबाली यति प्रशस्त हुनेछ कि त्यो वर्षभरि तिमीहरूलाई पर्याप्त हुनेछ। अनि नयाँ फसल राख्नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्न फ्याँकिदिनुपर्नेछ।
म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएँ।”
म तिमीहरूलाई दण्ड दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु— तिमीहरूको ज्यान सुकाउने अनि तिमीहरूलाई अन्धा पार्ने र निको पार्न नसकिने बिरामी र ज्वरोहरू ल्याउनेछु। तिमीहरूले अन्न लाउनेछौ तर त्यसबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिम्रा शत्रुहरूले तिमीहरूलाई विजय गर्नेछन् र तिमीहरूका उब्जनी खानेछन्।
म तिमीहरूका विरुद्धमा खडा हुनेछु र तिमीहरू हार्नेछौ। जसले तिमीहरूलाई घिनाउँछन् तिनीहरूले तिमीहरूमाथि राज्य गर्नेछन्। तिमीहरू यति साह्रो डराउनेछौ कि कसैले नदेखेको बेलामा पनि दगुरेर भाग्नेछौ।
म तिमीहरूका बीचमा डरलाग्दा जनावरहरू पठाउनेछु र तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मार्नेछन् र तिमीहरूका गाई-वस्तुहरू नाश पार्नेछन्। तिमीहरूको सङ्ख्या यति कम हुनेछ कि बाटाहरू रित्तो हुनेछन्।
हाम्रा बीचको करार तोडिएको कारणले म दण्ड दिन तिमीहरूकहाँ लडाइँहरू ल्याउनेछु। तिमीहरू सुरक्षाको लागि आफ्ना सहरहरूमा जम्मा भयौ भने म तिमीहरूका बीचमा निको पार्न नसकिने रोगहरू पठाउनेछु। आफ्ना शत्रुहरूका अघि हार मान्न तिमीहरूलाई कर लाग्नेछ।
म तिमीहरूको खाना जुट्न दिनेछैन र दश जना स्त्रीहरूसित भएका सबै खाना पकाउनलाई एउटा चुलो मात्र भए पुग्छ। तिनीहरूले खाना खटाई-खटाई बाँड्नेछन् र तिमीहरूले ती सबै खाइसकेपछि पनि अझै भोका नै रहनेछौ।
[34-35] तब देश उजाड हुनेछ र त्यसले विश्राम पाउनेछ। तिमीहरूचाहिँ बैरीका देशमा कैदी भइरहनेछौ। तिमीहरूले आफ्ना देशलाई नदिएको पूर्ण विश्राम धेरै वर्षसम्म देशले भोग गर्नेछ।
“तिमीहरूमध्ये कैदी भएर जानेहरूलाई म यति भयभित तुल्याउनेछु कि पात उडेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्। लडाइँमा खेदिएका झैँ तिमीहरू भाग्नेछौ र शत्रु छेउमा नहुँदा पनि तिमीहरू भुइँमा लड्नेछौ।
ती पुर्खाहरूले नै मलाई तिनीहरूका विरुद्धमा खडा हुन लाएका थिए र बैरीका देशमा तिनीहरूलाई कैदी भइरहनलाई धपाउन लाएका थिए। अन्तमा जब तिम्रा वंशहरू नम्र बन्नेछन् र आफ्ना पाप र विद्रोहका दण्ड भोगिसकेका हुन्छन्,
तर पहिले देशबाट सबै मानिसहरू निकालिनुपर्छ र देशले पूर्ण विश्राम लिन सकोस् अनि मानिसहरूले मेरो नियम र आज्ञाहरू अस्वीकार गरेको पूरा सजाय भोगिसक्नुपर्छ।
तर त्यसो भए पनि तिनीहरू बैरीकै देशमा बसेका बेलामा पनि म तिनीहरूलाई पूरै त्याग्नेछैनँ वा नाश पार्नेछैनँ किनभने त्यसो भयो भने तिनीहरूसित मैले बाँधेको कारार मेटिनेछ। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।
मैले आफ्ना मानिसहरूलाई मिश्रबाट निकाली ल्याएँ र अरू जातिहरूलाई आफ्ना शक्ति देखाएँ। म परमप्रभु तिनीहरूका परमेश्वर रहूँ भनी मैले त्यसो गरें। त्यस बेला मैले तिनीहरूसित बाँधेको करार म फेरि नयाँ गरी तिनीहरूसित बाँध्नेछु।”