म मेरो पवित्र सहर यरूशलेममा फेरि आउनेछु र त्यहाँ बास गर्नेछु। त्यो विश्वासयोग्य सहर भनी प्रसिद्ध हुनेछ र सर्वशक्तिमान् परमप्रभुको डाँडालाई पवित्र डाँडा भनिनेछ।
म तिनीहरूलाई यरूशलेममा बास गर्न फर्काई ल्याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरूमाथि विश्वासयोग्यसाथ र न्यायसित शासन गर्नेछु।
त्यसको अघि कसैले ज्यालामा वा भाडामा कुनै मानिस वा पशु राख्न सक्दैनथ्यो, कोही पनि शत्रुबाट सुरक्षित थिएन किनभने मैले मानिसहरूलाई आपसमा शत्रुता गराएको थिएँ।
हे यहूदा र इस्राएलका बासिन्दाहरू हो! बितेका दिनहरूमा विदेशीहरूले कसैलाई सराप दिँदा भन्थे, ‘यहूदा र इस्राएलमा परेका विपत्तिहरू तिमीहरूमाथि पनि परून्’ तर म तिमीहरूलाई बचाउनेछु। तब ती विदेशीहरूले यसो भनी आशिष् दिनेछन्, ‘यहूदा र यरूशलेमले पाएका आशिष्हरू तिमीहरूले पनि पाओ। यसकारण साहसी होओ र नडराओ।”
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “तिम्रा पुर्खाहरूले जब मलाई रिस उठाए, मैले तिनीहरूमाथि विपत्ति ल्याउने उपाय बनाएँ र त्योअनुसार मन नबदलीकन काम गरें।
“चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा राखिने उपवासहरू यहूदाका मानिसहरूको निम्ति हर्ष र आनन्दका चाडहरू हुनेछन्। तिमीहरूले सत्य र सुख-शान्तिलाई प्रेम गर्नैपर्छ।”
एउटा सहरका मानिसहरूले अर्को सहरमा गई यसो भन्नेछन्, ‘हामी सर्वशक्तिमान् परमप्रभुलाई पुज्न र उहाँको आशीर्वादको निम्ति प्रार्थना गर्न जाँदै छौं। हामीहरूसित आओ!’
ती दिनमा अरू जाति र भाषाका दश जना मानिसहरू एक जना यहूदीकहाँ आएर यसो भन्नेछन्, ‘हामीहरूलाई तिमीहरूसँग जान देओ किनभने परमेश्वर तिमीहरूसँग हुनुहुन्छ भनी हामीले सुनेका छौं।’