परमप्रभुले मोशालाई यी तल लेखिएका आदेशहरू दिनुभयो। जब छाउनी उठाउने समय हुन्छ, तब हारून र तिनका छोराहरू पवित्र पालमा गएर करारको सन्दुकको सामुन्ने लाएको पर्दा हटाएर त्यसले सन्दुकलाई ढाक्नेछन्।
छाउनी उठाउने बेलामा हारून र त्यसका छोराहरूले पवित्रस्थानका सबै सर-सामानहरू र तिनका साजसज्जाका सामानसहित ढाकछोप गरिसकेपछि मात्र कहात गोत्रका मानिसहरू ती बोक्नलाई आउनेछन्। कहात गोत्रका मानिसहरूले ती पवित्र सामान छुनुहुँदैन, नत्र तिनीहरू मर्नेछन्। जब पवित्र पाल उठाइन्छ, तब कहात गोत्रले पवित्रस्थानका सर-सामान बोक्ने कामको जिम्मा लिनेछ।
पूजाहारी हारूनका छोरा एलाजार सम्पूर्ण पवित्र पाल, पानसका लागि तेल, धूप, अन्नबलि, अभिषेक गर्ने तेल र पवित्र पालका परमप्रभुलाई चढाइएका अरू सबै थोकहरूका निम्ति जिम्मेवार रहनेछन्।
[18-19] “यी अति पवित्र वस्तुहरूको छेउमा आउँदा कहात गोत्रका मानिसहरूलाई मर्न नदेऊ। त्यसको लागि हारून र त्यसका छोराहरूले पवित्र पालमा गई हरेक मानिसलाई त्यसको काम खटाइदिनेछ र त्यसले कुन कुरो बोक्नुपर्छ, सो भनिदिनेछ।
पवित्र पालका चारैपट्टिको चोक र वेदीका डोरी र पर्दाहरू, चोकका ढोकाको पर्दा र ती उभ्याउनलाई चाहिने सबै कुराहरू। यी कुराहरूका लागि आवश्यक पर्ने सबै काम तिनीहरूले गर्नेछन्।
[31-32] पवित्र पालका फल्याक, डन्डी, खम्बा र आधारहरू अनि पवित्र पालका चारैतिरका चोकका खम्बा र आधारहरू, किलाहरू र डोरीहरू साथै तिनलाई खडा गर्नमा लगाइने सबै कुराहरू बोक्नका लागि तिनीहरू जिम्मेवार रहनेछन्।
[34-48] परमप्रभुले दिनुभएको आज्ञाअनुसार मोशा, हारून र इस्राएली समाजका मुखियाहरूले कहात, गेर्शोन र मरारी गोत्रका लेवीहरूका जनगणना लिए। त्यो जनगणना तिनीहरूले थर र परिवार-परिवारअनुसार गरे र तीसदेखि पचास वर्षसम्म उमेर पुगेका र परमप्रभुले बास गर्ने पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम तिनीहरूले सूचीमा चढाए। तिनीहरूको सङ्ख्या यस प्रकारको थियो— [गोत्र] — [सङ्ख्या] कहात — २,७५० गेर्शोन — २,६३० मरारी — ३,२०० जम्मा — ८,५८० ।
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक मानिसको नाम लेखियो अनि परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार प्रत्येक मानिसलाई आ-आफ्नो काम गर्ने वा केही कुरो बोक्ने कामको जिम्मेवारी दिइयो।