त्यसले आफ्नो पाप स्वीकार गर्नुपर्नेछ र जुन मानिसको विरुद्धमा त्यसले अपराध गरेको छ, त्यसलाई त्यसका निम्ति तोकिएको पूरा हर्जाना र अरू त्यसको पाँचौँ हिस्सा बढ्ता पनि चुक्ता गर्नुपर्नेछ।
तर त्यो मानिस मरिगयो र कोही हर्जाना लिन सक्ने नजिकको नातेदार पनि छैन भने त्यो धन परमप्रभुलाई पूजाहारीहरूको निम्ति भनेर दिनुपर्छ। अपराधीको शुद्धीकरणको विधि पूरा गर्न जुन साँढ-भेडा चढाइन्छ, त्यसमाथि थपेर यो हर्जाना तिर्ने काम हुनुपर्छ।
[12-14] परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “यस्तो हुन सक्छ कि कुनै पुरुषले आफ्नी स्वास्नी आफूप्रति अविश्वासी भएकी छे र पर-पुरुषसित सुतेर आफैंलाई अपवित्र तुल्याएकी छे भनी शङ्का गर्न सक्छ। तर लोग्नेचाहिँले त्यो कुरा हो भनी जानेको नहोला किनभने स्त्रीले त्यो कुरा गुप्तमा राखेकी होली वा कोही साक्षी थिएन होला वा त्यो दुष्कर्मकै बेलामा स्त्री पक्राउ परेकी थिई होली। यस्तो पनि हुन सक्छ कि बिनाकारण अथवा स्वास्नी अविश्वासयोग्य हुँदै नभएकी छे भने पनि लोग्नेले चाहिँ शङ्का गर्न सक्दछ।
जुनै कारणले शङ्का उठेको होस्, लोग्नेले स्वास्नीलाई पूजाहारीकहाँ लैजाओस्। त्यति बेला चाहिने एक किलोग्राम जौको पीठो पनि त्यसले सँगै लैजाओस् तर त्यसमाथि जैतुनको तेल वा धूप नमिसाओस् किनभने त्यो एउटा शङ्कालु लोग्नेले साँचो कुरो प्रकाशमा आओस् भनी चढाएको भेटी हो।
उसले त्यसपछि स्त्रीको केश फुकाइदेओस् र पिठोको भेटी त्यसका हातमा देओस्। पूजाहारीले आफ्नो हातमा तीतो पानी भएको बटुको लेओस्। त्यस तीतो पानीले सराप ल्याउँछ।
यदि स्त्रीले व्यभिचार गरेकी छे भने पानीले त्यसको पेट अति नमीठो गरी दुख्नेछ, गर्भपात हुनेछ अनि कोख बाँझो हुनेछ। आफ्ना मानिसहरूका बीचमा त्यसको नाम श्रापित हुनेछ।
[29-30] “कोही मानिस ईर्ष्या गर्ने खालको छ र त्यसले आफ्नी स्वास्नीले व्यभिचार गरेकी छे भनी शङ्का गर्छ भने त्यसको लागि यही नियम हो। त्यो स्त्री वेदीको सामुन्ने खडा गरिनेछ र पूजाहारीले यो रीति पूरा गर्नेछ।