सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| येशू त्यो ठाउँ छोडेर यहूदिया क्षेत्र र यर्दन नदीको पारिपट्टि जानुभयो। फेरि पनि धेरै मानिसहरूको घुइँचो लाग्यो अनि उहाँले सधैँजस्तै तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। |
| 2 |
| फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्नुहोस् त, लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्नुहुन्छ कि हुँदैन?” |
| 3 |
| येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?” |
| 4 |
| तिनीहरूले भने, “मोशाले त त्यागपत्र लेखेर आफ्नी स्वास्नीलाई त्यागे पनि हुन्छ भनेका छन्।” |
| 5 |
| येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्। |
| 6 |
| तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो। |
| 7 |
| ‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ। |
| 8 |
| अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्। |
| 9 |
| अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” |
| 10 |
| उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे। |
| 11 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ। |
| 12 |
| त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।” |
| 13 |
| येशूले आफ्नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हकारे। |
| 14 |
| येशूले यो देखेर आफ्ना चेलाहरूलाई हप्काएर भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो। |
| 15 |
| साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई केटा-केटीहरूले जस्तै गरी नलिएसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैन।” |
| 16 |
| अनि उहाँले ती केटा-केटीहरूलाई आफ्नो काखमा लिनुभयो र एक-एक जनामाथि हात राखेर आशीर्वाद दिनुभयो। |
| 17 |
| येशू त्यहाँबाट जान लाग्नुहुँदा एक जना मानिस दगुर्दै आएर उहाँको पाउमा परी सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” |
| 18 |
| येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वर बाहेक कोही पनि असल छैन। |
| 19 |
| परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।” |
| 20 |
| तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।” |
| 21 |
| येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” |
| 22 |
| यो कुरा सुनेर ती मानिसले अँध्यारो मुख लगाए र ठूलो पीर मान्दै गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो। |
| 23 |
| येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।” |
| 24 |
| येशूको कुरा सुनेर चेलाहरूलाई अचम्म लाग्यो। अनि येशूले अझै भन्दै जानुभयो, “बालक हो! परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो छ। |
| 25 |
| धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” |
| 26 |
| यो सुनेर चेलाहरूले झन् छक्कै परेर सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” |
| 27 |
| येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम हो, तर परमेश्वरबाट भने हुन सक्छ किनभने परमेश्वरबाट सबै काम हुन सक्छ।” |
| 28 |
| अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।” |
| 29 |
| येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मेरो लागि र सुसमाचारको खातिर आफ्ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन छोड्नेले |
| 30 |
| योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ। |
| 31 |
| तर अहिले पहिला हुनेहरूमध्ये धेरै जना पछि पर्नेछन् र अहिले पछि हुनेहरू धेरै जना पहिला हुनेछन्।” |
| 32 |
| येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै थिए। येशू चेलाहरूका अघि-अघि हिंड्दै हुनुहुन्थ्यो। चेलाहरू छक्क परेका थिए र पछि-पछि आउने मानिसहरूचाहिँ डराएका थिए। फेरि पनि येशूले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर आफूमाथि आइपर्ने दु:खको बारेमा भन्नुभयो, |
| 33 |
| “सुन, हामी यरूशलेम जाँदै छौं। त्यहाँ पुगेर मानव पुत्र मुख्य पूजाहारी र धर्म-गुरुहरूका हातमा पक्रेर सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्यु दण्ड दिनुपर्छ भनेर अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्। |
| 34 |
| तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र आखिरमा मार्नेछन्। तर तेस्रो दिनमा ऊ मरेकोबाट बिउँतनेछ।” |
| 35 |
| त्यसपछि जब्दियाका दुई छोरा याकूब र यूहन्ना येशूकहाँ आएर उहाँलाई भने, “गुरु, हाम्रो मनको इच्छा पूरा गरिदिनुहोस् भनेर हामी बिन्ती चढाउन आएका हौं।” |
| 36 |
| “भन त के चाहियो?” येशूले सोध्नुभयो। |
| 37 |
| तिनीहरूले जवाफ दिए, “हजुरको महिमित राज्यमा हामी दाजुभाइ हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऔं।” |
| 38 |
| येशूले भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्छौ? मैले लिनुपर्ने बप्तिस्मा के तिमीहरूले पनि लिन सक्छौ?” |
| 39 |
| तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, मैले पिउनुपर्ने घुड्को तिमीहरूले पनि पिउनेछौ र मैले लिनुपर्ने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ। |
| 40 |
| तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त परमेश्वर आफैंले जसको लागि ठीक पार्नुभएको छ, उसैलाई दिनुहुनेछ।” |
| 41 |
| यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्नासँग रिसाए। |
| 42 |
| अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। |
| 43 |
| तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। |
| 44 |
| सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ |
| 45 |
| किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्नै प्राण त्यागिदिन आएको हुँ।” |
| 46 |
| येशू चेलाहरूसँग यरीहो सहरमा आइपुग्नुभयो। त्यो सहर छोडेर जाँदा धेरै मानिसहरू उहाँहरू सँगसँगै आए। बाटोको छेउमा तिमैको छोरो बारतिमै भन्ने एक जना अन्धो माग्ने बसिरहेको थियो। |
| 47 |
| नासरतका येशू आउनुभएको थाहा पाएर उसले कराउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!” |
| 48 |
| धेरै जनाले उसलाई चुप लाग् भनेर हप्काए। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!” |
| 49 |
| हिंड्दाहिंड्दै येशूले टक्क अडिएर भन्नुभयो, “उसलाई यता बोलाओ!” तिनीहरूले त्यस अन्धोलाई बोलाएर भने, “तिमी खुसी होऊ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ, छिटो आऊ!” |
| 50 |
| ऊ आफ्नो खास्टो फ्याँक्दै उठ्यो र येशूकहाँ आयो। |
| 51 |
| येशूले उसलाई सोध्नुभयो, “तिम्रो लागि मैले के गरूँ?” “गुरु, मैले आँखा देख्न पाऊँ!” अन्धोले बिन्ती चढायो। |
| 52 |
| येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।” त्यति नै खेर ऊ आँखा देख्ने भयो र येशूको पछि लाग्यो। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/mark/010.mp3
16
10