सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए। |
| 2 |
| पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” |
| 3 |
| मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। |
| 4 |
| त्यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्नो बारेमा केही भन्नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।” |
| 5 |
| तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो। |
| 6 |
| मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। |
| 7 |
| त्यस बेला बारब्बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्यसले अरूसँग मिलेर आन्दोलनमा मानिस पनि मारेको थियो। |
| 8 |
| अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्ती गर्न लागे। |
| 9 |
| पिलातसले भने, “त्यसो भए यहूदीहरूको राजा भन्नेलाई छाडिदिऊँ त?” |
| 10 |
| मुख्य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्पन ल्याएका हुन् भन्ने कुरा पिलातसलाई थाहा थियो। |
| 11 |
| तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए। |
| 12 |
| पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?” |
| 13 |
| तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” |
| 14 |
| पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” |
| 15 |
| पिलातस भीडलाई खुसी पार्न चाहन्थे। यसैकारण उनले बारब्बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन जिम्मा लगाए। |
| 16 |
| सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। |
| 17 |
| तिनीहरूले येशूलाई राजाको जस्तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए। |
| 18 |
| त्यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्दै अभिवादन ठोके। |
| 19 |
| तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे। |
| 20 |
| यसरी गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे। |
| 21 |
| बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्जेन्डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए |
| 22 |
| अनि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। |
| 23 |
| त्यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन। |
| 24 |
| त्यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे। |
| 25 |
| येशूलाई क्रूसमा झुण्ड्याउँदा बिहानको नौ बजेको थियो। |
| 26 |
| उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’। |
| 27 |
| येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई जना डाकुहरूलाई पनि येशूको दाहिने र देब्रेपट्टि क्रूसमा झुण्ड्याए। |
| 28 |
| [यसरी धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा हुन आयो— उहाँ अपराधीहरूसँगै गनिनुभयो।] |
| 29 |
| त्यो बाटो हिंड्नेहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने, “लौ हेर! मन्दिर भत्काएर फेरि तीनै दिनमा बनाउन सक्नेलाई! |
| 30 |
| ए आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” |
| 31 |
| त्यसैगरी मुख्य पूजाहारी र धर्म-गुरुहरूले पनि येशूको गिल्ला गरे। तिनीहरूले आपसमा भने, “त्यसले अरूलाई त बचायो, तर आफैंलाई चाहिँ बचाउन सकेन। |
| 32 |
| ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्ड्याइएकाहरूले पनि उहाँको निन्दा गरे। |
| 33 |
| दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भयो। |
| 34 |
| तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर मलाई किन त्याग्नुभयो?” |
| 35 |
| येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।” |
| 36 |
| एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्यायो र त्यो झुम्रो लट्ठीको टुप्पामा अड्काएर येशूको मुखमा राख्दै भन्यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्दारहेछन् कि, हेरौं!” |
| 37 |
| तर त्यति नै बेला येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो। |
| 38 |
| त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्म दुई भाग भएर च्यातियो। |
| 39 |
| येशूले यसरी प्राण त्याग्नुभएको देखेर क्रूसको सामुन्ने उभिरहेका रोमी कप्तानले भने, “साँच्चै यी मानिस त परमेश्वरकै पुत्र रहेछन्।” |
| 40 |
| केही आइमाईहरूले पनि टाढैबाट हेरिरहेका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, सानो याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। |
| 41 |
| येशू गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याउँदै उहाँको सेवा गरेका थिए अनि येशूसँगै यरूशलेमसम्म आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। |
| 42 |
| त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो। |
| 43 |
| अरिमाथिया सहरको योसेफले त्यही दिनै साँझमा साहससँग पिलातसको अगाडि गएर येशूको लाश मागे। योसेफचाहिँ महासभाको माननीय सदस्य थिए। उनले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए। |
| 44 |
| येशू मरिसक्नुभयो भनेको सुन्दा पिलातस छक्क परे। उनले रोमी कप्तानलाई बोलाएर ‘येशू पक्कै नै मरिसकेका हुन् त’ भनी सोधे। |
| 45 |
| कप्तानले पक्कै मरेका हुन् भन्ने खबर दिएपछि पिलातसले योसेफलाई येशूको लाश लैजाने अनुमति दिए। |
| 46 |
| योसेफले असल सुती कपडा किनेर ल्याए र येशूको लाशलाई क्रूसबाट ओरालेर त्यही कपडामा बेरे अनि पहरा खोपेर बनाइराखेको चिहानमा राखे। त्यसपछि एउटा ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरिदिए। |
| 47 |
| मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई चिहानमा राखेको हेरिरहेका थिए। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/mark/015.mp3
16
15