नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्तार-चाड भनिन्छ। |
| 2 |
| मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे। |
| 3 |
| तब बाह्रमध्येको एक जना इस्करियोत भनिने यहूदाभित्र शैतान पस्यो। |
| 4 |
| तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पूजाहारीहरू र कप्तानहरूकहाँ गएर त्यसले सल्लाह गर्यो। |
| 5 |
| तिनीहरू खुसी भए, र त्यसलाई रुपियाँ दिने कबोल गरे। |
| 6 |
| त्यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो। |
| 7 |
| अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो। |
| 8 |
| उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।” |
| 9 |
| तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?” |
| 10 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग, |
| 11 |
| र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ |
| 12 |
| उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तयार गर।” |
| 13 |
| तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को तयारी गरे। |
| 14 |
| अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। |
| 15 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, |
| 16 |
| किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खानेछैनँ।” |
| 17 |
| तब कचौरा लिएर धन्यवाद चढ़ाउनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। |
| 18 |
| किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआउञ्जेल अब उप्रान्त अङ्गुरको रस म पिउनेछैनँ।” |
| 19 |
| अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।” |
| 20 |
| यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। |
| 21 |
| तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ। |
| 22 |
| किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” |
| 23 |
| यस्तो काम गर्ने तिनीहरूमध्ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे। |
| 24 |
| अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो। |
| 25 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। |
| 26 |
| तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्। |
| 27 |
| किनभने ठूलो को हो? भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु। |
| 28 |
| “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। |
| 29 |
| जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु, |
| 30 |
| ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ। |
| 31 |
| “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, |
| 32 |
| तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।” |
| 33 |
| अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।” |
| 34 |
| अनि उहाँले भन्नुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन।” |
| 35 |
| येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।” |
| 36 |
| उहाँले भन्नुभयो, “तर अब जसको थैलो छ, त्यसले त्यो बोकोस्, त्यसै गरी झोला पनि बोकोस्। र जससँग तरवार छैन, त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्। |
| 37 |
| म तिमीहरूलाई भन्दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।” |
| 38 |
| तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्।” उहाँले भन्नुभयो, “त्यति भए पुग्छ।” |
| 39 |
| बाहिर निस्केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे। |
| 40 |
| त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।” |
| 41 |
| उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो, |
| 42 |
| “हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।” |
| 43 |
| तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे। |
| 44 |
| अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए। |
| 45 |
| प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो। |
| 46 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।” |
| 47 |
| उहाँ बोल्दाबोल्दै, एउटा भीड त्यहाँ आइपुग्यो। बाह्र चेलामध्ये एक जना यहूदा भन्नेचाहिँ तिनीहरूका अगिअगि आयो। येशूलाई चुम्बन गर्नलाई त्यो उहाँको नजिकै गयो। |
| 48 |
| तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ?” |
| 49 |
| तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो, सो देखेर उहाँलाई भने, “प्रभु, के हामी तरवार चलाऔं?” |
| 50 |
| तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्यो, र त्यसको दाहिने कान च्वाट्टै काटिदियो। |
| 51 |
| तर येशूले भन्नुभयो, “भयो, अब यसो नगर।” अनि त्यस मान्छेको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो। |
| 52 |
| अनि उहाँको विरुद्धमा आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्तानहरू, र धर्म-गुरुहरूलाई उहाँले भन्नुभयो, “के तपाईंहरू डाँकूको विरुद्धमा आएजस्तै तरवार र लाठाहरू लिएर आउनुभयो? |
| 53 |
| म दिनहुँ मन्दिरमा तपाईंहरूका साथमा हुँदा तपाईंहरूले मेरो विरुद्धमा हात उठाउनुभएन। तर अब तपाईंहरूको समय हो, र अन्धकारको शक्ति यही हो।” |
| 54 |
| तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे। |
| 55 |
| त्यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे। |
| 56 |
| एउटी नोकर्नीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।” |
| 57 |
| तर पत्रुसले यसो भनेर इन्कार गरे, “ए नारी, म उहाँलाई चिन्दिनँ।” |
| 58 |
| केही बेरपछि अर्कोले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।” |
| 59 |
| प्राय: एक घण्टा बितेपछि अर्को एक जनाले जोड दिएर यसो भन्यो, “निश्चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालीली नै रहेछन्।” |
| 60 |
| तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोल्दाबोल्दै भाले बास्यो। |
| 61 |
| अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ” भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो। |
| 62 |
| र तिनी बाहिर निस्केर धुरुधुरु रोए। |
| 63 |
| तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे, |
| 64 |
| उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्।” |
| 65 |
| तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने। |
| 66 |
| उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे, |
| 67 |
| र भने, “तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न। |
| 68 |
| मैले प्रश्न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्न। |
| 69 |
| तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।” |
| 70 |
| तब तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ।” |
| 71 |
| तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/luke/022.mp3
24
22