त्यस समयमा प्रभु येशूका चेलाहरूको सङ्ख्या बढिरह्यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्ने र हिब्रू भाषा बोल्ने यहूदीहरूको बीचमा भनाभन् चल्न थाल्यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्ता भएन भन्ने ग्रीक भाषा बोल्ने यहूदीहरूको भनाइ थियो।
प्रेरितहरूको विचार सबैलाई मन पर्यो। त्यसैले तिनीहरूले विश्वास र पवित्र आत्माले भरपूर भएका स्तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने।
तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्वतन्त्र भन्ने दलका मानिसहरू अनि अलेक्जेन्ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्तिफनससँग तर्कवितर्क गर्न लागे।
त्यसपछि तिनीहरूले स्तिफनसको बारेमा झूट बोल्ने मानिसहरूलाई ल्याए। झूट बोल्ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्ने गर्छ।
नासरतका येशूले यस मन्दिरलाई भत्काउनेछ र हामीले मोशादेखि नै मान्दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्ता-यस्ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।”