आजसम्म चलिआएझैँ परमप्रभुका करारको सन्दूक बोक्न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष् दिन त्यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो।
यसैकारण लेवीहरूलाई आफ्ना दाजुभाइहरूसँग कुनै हिस्सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्छ।)
अनि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको देशमा पसी तिनीहरूले त्यो अधिकार गरून्।”
यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्: तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर,
तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्नो प्यार खन्याई परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्नुभयो।
किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, र उहाँले कहिल्यै घूस लिनुहुन्न।
उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो।