तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्तान, आफ्नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू।
उनीहरूलाई लड्न नउक्साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्ने जत्रो ठाउँ पनि दिन्नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु।
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ। यस ठूलो उजाड़-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।
यसैकारण सेइरमा बस्ने एसावका सन्तान, हाम्रा दाजुभाइहरूका मध्येबाट हामी गयौं। एलात र एस्योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्थानको बाटो लाग्यौं।
तब परमप्रभुले मलाई भन्नुभयो, “मोआबलाई दु:ख-कष्ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्नँ, किनभने मैले आर सहर लोतका सन्तानको अधिकारमा दिएको छु।”
उहिले नै होरीहरू पनि सेइरमा बस्थे, तर एसावका सन्तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)
परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट नहोउञ्जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आइपुग्न हामीलाई अठतीस वर्ष लाग्यो।
जब तिमीहरू अम्मोनीहरूको सिमानामा पुग्छौ, तब उनीहरूलाई दु:ख-कष्ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ, किनकि अम्मोनीहरूको देशबाट अधिकारको निम्ति म कुनै अंश पनि तिमीहरूलाई दिन्नँ। मैले त्यो लोतका सन्तानको अधिकारमा दिएको छु।”
यिनीहरू असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्मोनीहरूका सामुन्ने नाश गरिदिनुभयो, र जमजुम्मीहरूपछि अम्मोनीहरू आएर यिनीहरूका सट्टामा बसे।
उहाँले सेइरमा बस्ने एसावका सन्तानका निम्ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्ने होरीहरूलाई नष्ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्।
“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूका हातमा दिएको छु। त्यो अधिकार गर्न सुरु गर र त्यससित युद्ध गर।
तर हेश्बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्म त्यो तिमीहरूकै हातमा छ।
त्यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्त्रीहरू र बालबच्चाहरूलाई समेत मानिसहरू बसेको प्रत्येक सहरलाई पूर्ण रूपले नाश पार्यौं। हामीले कसैलाई पनि छोड़ेनौं।
अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो।