आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।
परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ।
तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्तान, गाईबस्तु र भूमिको उब्जनीमाथि परमप्रभुले प्रशस्त उन्नति दिनुहुनेछ।
मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्:
उहाँलाई त्यागेर तिमीहरूले गरेका दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्जेल र खतम नहोउञ्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्की पठाउनुहुनेछ।
परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रुहरूका अगि पराजित तुल्याउनुहुनेछ। उनीहरूसित लड्न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्नेछौ। पृथ्वीका सबै राज्यमा तिमीहरू तिरस्कृत हुनेछौ।
तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउनेछैनौ।
तिमीहरूका आँखाअगि ढालेको आफ्नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुनेछैन।
तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ।
परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सराप तिमीहरूमाथि आइपर्नेछन्। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन्।
अनि उनीहरूले तिमीहरूका गाईबस्तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्ट हुने गरी खाइदिनेछन्। तिमीहरू खतम हुने गरी अन्न, नयाँ दाखमद्य, तेल, गाईबस्तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्नेछैनन्।
यहाँसम्म कि उसले खाँदैगरेको आफ्ना बालबच्चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्टमा त्यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
तिमीहरूमध्ये कोमल र शिष्ट स्त्री, जसले कोमलता र शिष्टताको कारणले भूइँमा आफ्नो पैतालोले टेक्न पनि चाहँदिनथिई, त्यस्ती स्त्रीले त्यसका पति र आफ्नै छोराछोरीलाई
त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्नेछैन। उसको दृष्टि खराब हुनेछ, किनकि त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्टमा त्यसले गुप्तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे।
जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्यसरी नै तिमीहरूलाई खुशीसाथ ध्वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
तब पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरू तिमीहरूले पुज्नेछौ।
ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्यो देख्नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन।