मोआब देशमा परमप्रभुले मोशालाई इस्राएलीहरूसित बाँध्न लाउनुभएको करारमा यी करारका कुराहरू लेखिएका थिए। सीनै पहाडमा परमप्रभुले तिनीहरूसित बाँध्नुभएको करारमाथि थपेर यो करार बाँधिएको थियो।
[10-11] “आज तिमीहरू तिम्रा अगुवा र अधिकृतहरू, पुरुष, स्त्री र छोरा-छोरीहरू, तिम्रा बीचमा बास गर्ने र दाउरा काट्ने र पानी बोक्ने विदेशीहरू— सबै जना परमप्रभु आफ्ना परमेश्वरको अघि खडा छौ।
परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार, तिमीहरूलाई आफ्ना निजी प्रजा हौ भनी पक्का गर्नुहुन्छ अनि तिमीहरूका परमेश्वर बन्नुहुन्छ।
आज यहाँ खडा हुने पुरुष, स्त्री, परिवार र कुलले हामी कोही पनि परमप्रभु हाम्रा परमेश्वरबाट फर्केर र अरू जातिका देव-देवताको पूजा गर्नेछैनौं भनी पक्का सङ्कल्प गर। नत्रता त्यो जरा बढेर एउटा तीतो र विषालु बोट बनेको जस्तो हुनेछ।
आज यी गम्भीर वाचाका वचन सुन्नेहरूमध्ये म ढिट भएर आफ्नै बाटो लागिरहे पनि सबै कुरा ठीकै हुनेछ भनी विचार गर्ने कोही व्यक्ति हुनुहुँदैन। यो कुरा पक्का गर। नत्र तिमीहरू असल र दुष्ट सबै नाश हुनेछौ।
त्यस्तो मानिसलाई परमप्रभुले क्षमा गर्नुहुन्न। बरु परमप्रभुको बल्दो क्रोध त्यसमाथि दन्कनेछ र त्यसलाई उहाँले पूरा नाश नपारुञ्जेल यस पुस्तकमा लेखिएका सारा विपत्तिहरू त्यसमाथिपर्नेछ।
इस्राएलका सबै कुलहरूका अघि त्यसलाई परमप्रभुले एउटा नमुना बनाउनुहुनेछ र त्यसमाथि आफ्ना शिक्षाको यस पुस्तकमा लेखिएका करारको सराप बमोजिम जम्मै विपत्तिहरू ल्याउनुहुनेछ।
खेतबारीहरू गन्धक र नुनले ढाकेका उजाड, काम नलाग्ने भूमि बन्नेछन्। त्यहाँ केही कुरो रोपिनेछैन र जङ्गली झारपातसम्म त्यहाँ उम्रनेछैन। परमप्रभुले औधी क्रोध गरेर नाश गर्नुभएको सदोम र गमोरा, अदमा र सबोयीम सहरहरूजस्तै तिमीहरूको देश पनि हुनेछ।
“परमप्रभु हाम्रा परमेश्वरले अरू कति कुरा गुप्त राख्नुभएको छ। तर उहाँले आफ्नो नियम प्रकट गरिदिनुभएको छ अनि हामी र हाम्रा सन्तानले सधैँ ती मान्नुपर्छ।