तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ।
तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्दा टाढ़ो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ, र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ।
तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ, र तिमीहरूले त्यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्दा उन्नतिशील र असंख्य बनाउनुहुनेछ।
परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।
व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्यौ भने र आफ्नो पूरा हृदयले र आफ्नो पूरा प्राणले परमप्रभु आफ्ना परमेश्वरतिर तिमीहरू फर्क्यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।
“कसले सागर पारि गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन।
परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक,
र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।